लण्डन मे ३० ।

बेलायत सरकारले अब हप्तामा तीन दिन बिदा दिने भएको छ ।
स्पेन,आइसल्यान्ड, अमेरिका र क्यानडापछि अब बेलायतमा पनि काम र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्नका लागि यस्तो व्यवस्था कायम गर्न लागिएको हो । बेलायतका ६० वटा ठूला कम्पनीले १ जुनदेखि यो व्यवस्थाको परीक्षण गर्न भएका छन्। यो व्यवस्थाको मुख्य उद्देश्य कर्मचारीको कामको समय घटाउनु हो ।
अमेरिका, स्पेन, आइसल्याण्ड र क्यानडामा पहिले नै यस्तो व्यवस्थाको परीक्षण सुरु भइसकेको छ। अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि अगस्टदेखि यस्तो परीक्षण सुरु हुनेछ । बेलायतमा करिब ६ महिनासम्म चल्ने यो परीक्षणमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई चार दिन वा अधिकतम ३२ घण्टा काम लगाउनेछन् । अर्थात कर्मचारीहरुलाई प्रत्येक साता तीन दिनको बिदा दिइनेछ ।
यसमा बेलायतका ६० ठूला कम्पनीका करिब ३ हजार कर्मचारीहरु समावेश हुनेछन्। यसबीचमा कर्मचारीको तलबमा कुनै पनि परिवर्तन गरिने छैन । कर्मचारीहरुले ५ दिनको काम ४ दिनमा सक्नुपर्नेछ । कैयौँ अन्य देशमा फोर डे विकको सुरुआत पहिलेदेखि नै भइसकेको छ । ती देशलाई फोर डे विक क्लब भन्ने गरिन्छ। अरब देश यूएईले सरकारी कार्यालयहरुमा जनवरी २०२२ देखि सातामा ४ दिन काम गर्ने व्यवस्था लागू गरेको थियो ।
यस्तै जापानको कम्पनीको प्यानासोनिकले पनि साताको ४ दिनमात्रै कामको व्यवस्था सुरु गरेको छ। न्युजिल्यान्डको बहुराष्ट्रिय कम्पनी युनिलिभरले पनि आफ्ना कर्मचारीका लागि डिसेम्बर २०२० देखि एकवर्षे ४ दिवसीय कार्य सप्ताह सुरु गरेको थियो । बेल्जियममा पनि श्रम कानुनमा परिवर्तन गरिँदैछ। जसपश्चात कर्मचारीलाई साताको तीन दिन बिदा दिइनेछ। त्यहाँ नयाँ व्यवस्थापछि अफिसपश्चात हाकिमको म्यासेज वा कललाई बेवास्ता गर्न पाइने विशेष सुविधा दिइनेछ ।
स्पेन सरकारले पनि यस्तै व्यवस्था लागू गर्ने घोषणा गरेको छ । स्कटल्यान्ड र आयरल्यान्डमा पनि परीक्षणका रुपमा यस्तो व्यवस्था सुरु भइसकेको छ । आइसल्यान्डले पनि ४ वर्षको परीक्षणपछि चार कार्यदिनको व्यवस्था घोषणा गरेको छ ।






