म्याग्दी ३ जुन २०२२ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमंगलेका दुर्गम बस्तीहरुमा नेपाल टेलिकमको पहुँच विस्तार भएपछि स्थानीयवासी खुसी भएका छन् ।
मोबाइलका लागि अग्लाडाँडा र रुखमा चढेर नेटवर्क खोज्नुपर्ने बाध्यता हटेको भन्दै स्थानीयवासी हर्षित बनेका हुन् । रघुगंगा गाउँपालिका–७ चिमखोलाको पुस्तिबाङ डाँडामा अस्थायीरुपमा विद्युतको पोलमा बिटियस जडान गरेर सेवा सञ्चालन गरिएको नेपाल टेलिकम म्याग्दीका प्रमुख दामोदर सिम्खडाले जानकारी दिए । समुन्द्री सतहदेखि २ हजार ६ सय मिटर उचाइमा रहेको पुस्तिबाङ डाँडामा टेलिकमको २५ मिटर अग्लो टावर निर्माण गर्ने योजना रहेको छ ।
तत्कालको लागि टुजी र थ्रिजीमार्फत भ्वाइस र डाटा एकसाथ सञ्चालनमा आएको र पक्की टावर निर्माण भएपछि अत्याधुनिक प्रविधिको चौथो पुस्ताको फोरजी मोवाईल सेवा सञ्चालनमा आउने रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडाअध्यक्ष थकबहादुर पाईजा (रिम)ले जानकारी दिए । उनका अनुसार, टावरका महत्वपूर्ण उपकरण राख्नका लागि गाउँपालिकामार्फत टावर परिसरमा भवन समेत निर्माण भैसकेको छ ।
टावर बनेपछि चिमखोलाको जस्लाबाङ, पात्लेखेत, गौडामानी, नगलडाँडा, कुइनेमंगलेको मंगलेखानी, घ्यासीखर्क, दुवाडी, ढाँड, पात्लेखर्क, चौरखानी लगायतका दुर्गम बस्तीहरुमा मोवाइल फोनको सहज पहुँच पुगेको छ । दुर्गम बस्तीहरुमा मोवाइल फोनको लागि नेटवर्क खोज्दै अग्डाडाँडा र रुखमा चढ्नुपर्ने बाध्यता टेलिकमको सेवा विस्तारपछि हटेको रितुङ मावि कुइनेमंगलेका शिक्षक याम घर्तिमिरेले बताए ।






