
गैरआवासीय नेपाली संघ यूकेले नायिका मिरुना मगरमाथि अभद्र व्यवहार भएकोप्रति ध्यानाकर्षण, आपत्ति र अभद्र व्यवहार रोक्न चेतावनी दिदै एक प्रेस बिज्ञप्ति निकालेको छ। जस्तो त्यस्तै:
प्रेस बिज्ञप्ति
नायिका मिरुना मगरमाथि अभद्र व्यवहार भएकोप्रति एनआरएनए यूकेको ध्यानाकर्षण
नायिका मिरुनामाथि अभद्र व्यवहार रोक्न एनआरएनए यूकेको चेतावनी
नायिका मिरुनामाथि अभद्र व्यवहार भएकोप्रति एनआरएनए यूकेको आपत्ति
लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले आफ्नो पञ्जिकृत सदस्य तथा नेपाली चलचित्रकी चर्चित नायिका मिरुना मगरमाथि अभद्र व्यवहार भएको भन्दै खेद प्रकट गरेको छ ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आइतबार लन्डनस्थित नेपाली दूतावासमार्फत नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेर बेलायतको सुखसयल पूर्ण जीवनशैली छोडेर नेपाललाई कर्म थलो बनाएकी नायिका मिरुनामाथि केही दिनयता काठमाडौंमा भइरहेको दुर्व्यवहारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
आफ्नो चलचित्र ’कबड्डी ४’ प्रदर्शनका क्रममा सिभिल मलको हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको ‘अभद्र व्यवहार’ घटनामा जोडिएका व्यक्तिलाई उनले माफी दिइसकेपछि पनि मिरुनाविरुद्ध सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट भइरहेका टिका टिप्पणी र आक्रमणप्रति हामी खेद व्यक्त गर्दछौं, पत्रमा भनिएको छ ।
गैर आवासीय नेपाली संघ यूकेका प्रत्यक सदस्यहरुविरुद्ध कार्यक्षेत्रमा हुने दुव्यर्वहार आफ्नो सरोकारको विषय र विदेशबाट ज्ञान सीप लिएर नेपाल फर्किएका नेपालीहरुको सम्मान एवं सुरक्षा गैर आवासीय नेपाली समुदायको साझा चासोको विषय रहेको पनि अध्यक्ष गाहामगरले उल्लेख गरेका छन् ।
‘हामी मिरुना लगायत विदेशबाट नेपालमा गएर नेपाली कला क्षेत्रमा योगदान दिइरहेका सबै कलाकारको सम्मान र सुरक्षाको व्यवस्था गर्न पनि हामी नेपाल सरकारसंग माग गर्दछौं’, पत्रमा छ, ‘साथै मिरुनाको उक्त घटनालाई लिएर कुनै पनि समुदाय वा धार्मिक सम्प्रदायबीच मतभेद बढाउने खालका गतिविधि नगर्न हामी सम्वद्ध सबै पक्षलाई आग्रह गर्दछौं ।
प्रेम गाहा मगर
अध्यक्ष
गैरआवासीय नेपाली संघ यूके








