गैरआवासीय नेपालीलाई नागरिकताको विषय शीघ्र सम्बोधन गरिनेछ : प्रधानमन्त्री देउवा

SHARE:

काठमाडौं १६ जुन २०२२ । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने विश्वास दिलाएका छन् ।

संघले बिहीबार यहाँ आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको उद्घाटन गर्दै उनले नागरिकताको विषय सबै सरोकारवालासँग छलफल गरेर टुङ्गो लगाइने बताए । उनले भने, “तपाईंहरुले गैरआवासीय नेपालीलाई नागरिकताको विषय जतिसक्दो चाडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ, यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशीघ्र सम्बोधन गर्ने कुरा पुनः म यहाँहरुलाई आश्वास्त तुल्याउन चाहन्छु ।”

प्रधानमन्त्री देउवाले एनआरएनएले उठाएका जायज मागप्रति सरकार संवेदनशील रहेको र उनीहरुको नेपाल आवागमन सहज गर्नेदेखि लगानी र सम्पत्तिको संरक्षण गर्ने काममा सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले संसारभरि छरिएर रहेका प्रवासी नेपालीलाई मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न अपिल गर्दै विदेशमा आर्जन गरेको पूँजी, ज्ञान र सीपलाई नेपालको विकासमा उपयोग गर्न पनि आग्रह गरे । “अब विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यावसायिक ज्ञान, सीप र कौशललाई मुलुकको विकासका लागि उपयोग गर्न संघमार्फत सबै गैरआवासीय नेपालीलाई आग्रह गर्दछु”, उनले भने ।

प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुहरुको उपभोगलाई प्रोत्साहन गर्नसके निर्यात प्रवर्द्धन हुने र नेपाली उद्योगधन्दाको सदुपयोग हुने भन्दै विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगसँग समन्वय र सहकार्य गरेर विदेशी पुँजी नेपाल भित्र्याउने कार्यमा पनि सक्रिय हुन आव्हान गरे ।

प्रधानमन्त्री देउवाले आगामी आर्थिक वर्षको बजेटमा नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा रु पाँच करोडबाट घटाएर रु दुई करोड कायम गरेको, त्यस्तै रु १० करोड सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउने कुरा उल्लेख गरेको बताए । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय भएको उनले बताए ।

प्रधानमन्त्री देउवाले सरकारले विदेशमा बसोबास गरिरहेका नेपालीहरुलाई नेपालका बैंकमा डलर खाता खोल्न सहज गरेको साथै गत जुन १ देखि नेपाल राष्ट्र बैंकले ब्याज दिने गरी वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको बताए । उनले नेपालको अर्थतन्त्रलाई टेवा पुग्ने उद्देश्यले गरिएको यो व्यवस्थाबाट संसारभरि रहेका नेपालीहरुलाई डलर खाता खोलेर तथा बचत पत्र किनेर फाइदा उठाउन आग्रह गरे । उनले गैरआवासीय नेपाली समुदायले नेपालमा विसं २०७२ को महाभूकम्पमा पीडितको उद्धार र राहतका साथै सुरक्षित आवास निर्माण तथा कोभिड–१९ महामारीको असहज परिस्थितिमा पिसीआर किट, अक्सिजन उपकरणलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएर हजारौँको ज्यान बचाउन गरेको कामको सराहना गरे ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्काले गैरआवासीय नेपालीको लगानी प्रोत्साहन गर्न सरकारले ‘विशेष आर्थिक क्षेत्र’ स्थापना गर्ने योजना बनाइरहेको जानकारी दिनुभयो । उनले संविधानको भावना अनुरुप गैरआवासीय नेपालीका लागि नेपाली नागरिकता प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री खड्काले अबको मुख्य लक्ष्य नेपालको आर्थिक विकास, पर्यटन प्रवद्र्धनका साथै विदेशी ज्ञान, सीप, पुँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपाली समुदायलाई आग्रह गरे । उनले नेपालमा जलविद्युत्, कृषि, पर्यटन, सञ्चारका साथै शिक्षा र स्वास्थ्यको क्षेत्रमा ठूलो लगानीको आवश्यकता रहेको भन्दै लगानी भित्र्याएर लाभ लिन पनि अनुरोध गरे ।

परराष्ट्रमन्त्री खड्काले वैदेशिक रोजगारबाट फर्केका नेपालीका लागि एउटा ‘च्यालेन्ज फन्ड’ स्थापना गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । संघका कार्यकारी अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीलाई नागरिकता दिने विषयमा प्रधानमन्त्री देउवाले दिएको आश्वासनबाट आफूहरु उत्साहित भएको बताए । साथै उनले गैरआवासीय नेपाली ऐन र नियमावलीमा पनि सामयिक परिमार्जन गर्न नेपाल सरकारलाई आग्रह गरे ।

संघका अध्यक्ष डा बद्री केसीले नेपालको संविधानले व्यवस्था गरेको गैरआवासीय नेपालीलाई नागरिकता दिने विषय चाडो टुङ्गोमा पुर्‍याउन आग्रह गरे । उनले गैरआवासीय नेपालीलाई नेपालमा डलर खाता खोल्न तथा साढे १२ प्रतिशत व्याज पाउने वैदेशिक रोजगार बचतपत्र किनेर लाभान्वित हुन पनि अपिल गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!