वैदेशिक रोजगारीमा ठगी : विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो 

SHARE:

झापा, २६ जुन २०२२ । भद्रपुर नगरपालिका–५ का पाँच युवा चिनेजानेका विचौलियाबाटै वैदेशिक रोजगारीको बहानामा ठगिएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा क्लिनर काममा पठाइदिने भनी वडा नं ६ का ५० वर्षीय गोपाल उराउले पाँच वर्ष अघि ती युवाबाट रु तीन लाख ५० हजार असुलेका थिए । उराउ वैदेशिक रोजगारीमा युवा खोज्ने विचौलिया हुन् ।ठगीको शिकारमा परेका बेचन यादव, रोहित यादव, राजीव सहनी, मनोज मण्डल र सञ्जय चौधरीलाई वैदेशिक रोजगारीमा पठाइदिने भनी रकम असुलेपछि विभिन्न बहानामा आलटाल गर्दै आएका पीडक उराउले गतवर्ष वडाध्यक्षको रोहवरमा रकम तिर्ने भाकासहितको कागजमा सही पनि गरेका थिए ।

पाँच वर्ष वितिसक्दा पनि पीडित युवा नत वैदेशिक रोजगारीमा जान पाए, नत ऋण काढेर जम्मा गरेको उनीहरुको रकम फिर्ता नै भयो । “गाउँकै चिनेजानेको दाइ भएकाले उहाँले भनेको पत्यायौंँ,” ठगीमा परेका भद्रपुर–५ बेचन भन्नुहुन्छ–“पैसा पहिल्यै जम्मा गर्न लगाउनुभयो । भनेकै बेला ऋण काढेर भए पनि दियाँैं तर अहिले विदेश पठाउने कुरै हरायो, पैसा पनि फिर्ता पाउन सकेनौँ ।” पर्ख भन्दै आलटाल गरेको तीन वर्ष बितेपछि पीडितहरुले गत वर्ष नगरपालिकालाई गुहारेका थिए । वडाध्यक्ष बन्धु कार्कीको रोहवरमा २०७८ असार २७ गते चार महिनाको भाका राखी रकम तिर्ने कबुलनामा कागज समेत गरिएको थियो तर कागजमा तोकिएको भाकाभित्र पनि उराउले रकम फिर्ता गरेनन् । आर्थिक रुपमा विपन्न परिवारका ती पाँच युवा आफ्नो पीडा बोकेर वैदेशिक रोजगार विभाग पुगे । विसं २०७८ मङ्सिर २८ गते विभागमा उनीहरुले उजुरी पनि दिए् ।

तर विभागले पनि अहिलेसम्म पीडितलाई न्याय दिलाउन र पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउन सकेको छैन ।“यस्तो मुद्दा वैदेशिक रोजगार विभागले हेर्छ भनेर सल्लाह पाएपछि हामी पाँचै जना मिलेर संयुक्त निवेदन दियौँ,” अर्का पीडित भद्रपुर–५ का २८ वर्षीय राजीव भन्नुहुन्छ–“विभागका सरहरुले व्याजसहित रु पाँच लाख ५० हजार तिराइदिन्छौँ भन्नुभएको छ ।”पीडितका अनुसार उक्त विभागले यस मुद्दामा कारबाही प्रक्रिया अघि बढाए तापनि परिणाम भने निस्किएको छैन । विभागले पीडक उराउविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ । पक्राउ पूर्जी जारी भएको सुइँको पाएपछि उनी फरार भएका छन् । अचेल गाउँतिर उनी देखिदैनन् । पीडितहरु प्रहरीले आरोपितलाई पक्राउ गर्न नसकेकामा निराश छन् ।
प्रशासनमा उजुरीको चाङ

वैदेशिक रोजगारीमा भएका ठगीका घटनामा प्रमुख जिल्ला अधिकारीसमक्ष समेत उजुरी दिन सकिने कानुनी व्यवस्था छ । झापामा एक वर्षमा वैदेशिक रोजगारीका ठगी सम्बन्धी ३४ वटा उजुरी दर्ता भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल बताउनुहुन्छ । उहाँ प्रजिअको रुपमा झापा आइसकेपछि नै २० वटा त्यस्ता उजुरी प्रशासनमा परेका छन् । आपसी सहमतिमा रकम फिर्ता हुने रहेछ भने जिल्लामै छलफल चलाउने र नभए आवश्यकता अनुसार वैदेशिक रोजगार विभागमा उजुरी गर्न पठाउने कार्य हुँदै आएको प्रजिअ रिजाल बताउनुहुन्छ ।

एक वर्षमा पाँच वटा मुद्दामा पीडितहरुको रु २३ लाख ६० हजार फिर्ता गराएको र अरु पाँच वटा मुद्दाको रकम फिर्ता गर्ने सहमति भएको छ भने आठ वटा मुद्दालाई विभागमा पठाइएको उहाँको भनाइ छ ।बेरोजगारी समस्याले पिरोलिएका सर्वसाधारण युवा सचेत नहुँदा वैदेशिक रोजगारीको बहानामा ठगीको शिकार बन्ने क्रम बढेको छ ।“ठगी गर्नेलाई कानुनी कारबाही गरेर रकम फिर्ता गराउने र पीडकलाई दण्डित गर्ने कुरा त छँदैछ,” प्रजिअ रिजाल भन्नुहुन्छ–“रोजगारीमा जान लागेको व्यक्ति र उसको परिवार बेलैमा सचेत हुने हो भने ठगी हुने सम्भावना रहँदैन । पैसा बुझाउने बेलामा कागज नगरिएका धेरै घटना पाइएका छन् ।”रोजगारीमा जाने व्यक्ति र उसको अभिभावकलाई पालिकास्तरमै परामर्श दिन हेल्प डेस्क राख्ने हो भने ठगीको समस्या न्यूनीकरण हुने प्रजिअ रिजालको सुझाव छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!