माओवादी केन्द्रीय समिति बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

SHARE:

काठमाडौं । पटक-पटक सर्दै आएको नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा सहभागीले पार्टीभित्रको साङ्गठनिक अराजकतालाई तत्काल सच्याएर जानुपर्नेमा जोड दिएका छन् । गत पुसमा पार्टीको आठौं महाधिवेशन सम्पन्न भयो । त्यसले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गर्‍यो । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहितको पदाधिकारी चयन गर्ने गरी विधानमा प्रबन्ध गरिएको छ । विधानमा व्यवस्था भए पनि व्यावहारिक रुपमा कार्यान्वयन हुन नसक्दा पार्टीले गति लिन नसकेको भन्दै समय थप गरेर भए पनि टुङ्गो लगाउनुपर्ने माग उठेको छ ।

राजधानीको कमलादीमा आजदेखि शुरु भएको बैठकमा धारणा राख्ने क्रममा बागमती प्रदेशका अध्यक्ष सरलसहयात्री पौडेलले पार्टीको पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता, विभागहरूलाई क्रियाशिल बनाएर स्पष्ट कार्ययोजनाका साथ जनतामा जानुपर्नेमा जोड दिए ।

बैठकको शुरुमा नै अध्यक्ष प्रचण्डले पूर्व स्थायी समितिको बैठकबाट पार्टीको केन्द्रीय समितिमा मनोनित गरिएका केन्द्रीय सदस्यलाई पद तथा गोपनियताको शपथ गराएका थिए । बैठकमा अध्यक्ष प्रचण्डले विभिन्न नौ वटा एजेण्डामा छलफल हुने जानकारी गराएका थिए । त्यसमा नयाँ सदस्यहरुको सपथग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, सङ्गठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र सङ्घको निर्वाचनको तयारी र विविध विषय समावेश गरिएको थियो ।

प्रदेशहरुको विवरण प्रस्तुत गर्ने क्रममा विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले पनि पार्टीले अबलम्बन गरेको गठबन्धनको नीतिप्रति तिखो टिप्पणी गरेका थिए । उनले गठबन्धन भन्दै जाँदा पार्टीको स्वतन्त्र पहिचान नै गुम्न थालेको, चुनाव चिह्न नै बिर्सने अवस्था आएको बताए । अध्यक्ष सिंखडाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट सबैभन्दा बढी फाइदा नेपाली काँग्रेसले लिएका टिप्पणी गरे ।

अघिल्ला बैठकमा अध्यक्षकातर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने गरिएको भए पनि यस पटक संक्षिप्त टिपोट प्रस्तुत गरेर त्यसमा छलफल गराउन लागिएको छ । अध्यक्ष प्रचण्डले १० पेज लामो संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन् । त्यसमा पार्टीले आगामी दिनमा अबलम्बन गर्नुपर्ने नीति, योजना र कार्यक्रमका बारेमा उल्लेख गरिएको छ ।

सङ्गठनात्मक कामअन्तर्गत सङ्गठानात्मक कार्यदिशालाई लागू गर्न पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गरी केन्द्रीय समितिलाई पूर्णता दिने, नयाँ सन्दर्भमा आयोगलाई पूर्णता दिने, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मञ्चलाई पूर्णता दिई बैठक बोलाउने, विभागलाई कामकाजी बनाउने, आगामी निर्वाचनका लागि प्रतिबद्धतापत्रका लागि सुझाव सङ्कलन र तयारी गर्ने, माओवादी धाराका नेता तथा कार्यकर्ता र समर्थकलाई ठोस योजना बनाई मूल घरमा फिर्ता ल्याउने विषय समेटिएको छ ।

वामपन्थी धाराका नेता तथा कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई ठोस कार्यक्रमका साथ पार्टीमा समाहित हुन आग्रह गर्ने, विभिन्न पार्टीसँग एकताका लागि पहल गर्ने, स्थानीय तहको निर्वाचनको अनुभवका आधारमा वर्तमान गठबन्धनलाई प्रभावकाारी बनाउन जोड गर्ने विषय सङ्गठनात्मक कामका रुपमा उल्लेख गरिएको छ ।

जनयुद्धको जग र जनआन्दोलनको समायोजनमा आजको परिवर्तन सम्भव भएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले तीव्र गतिमा आर्थिक विकास, समृद्धि, सामाजिक न्यायमा आधारित नयाँ नेपालको खाका तयार पार्न आवश्यक रहेको ठहर गरेको छ । पार्टीले विज्ञ, विशेषज्ञसँग छलफल गरेर आगामी निर्वाचनको प्रतिबद्धतापत्र तयार पार्ने अध्यक्ष दाहालको प्रतिवेदनमा उल्लेख छ । सम्पूर्ण केन्द्रीय सदस्यलाई ठोस कार्यविभाजनसहित निर्वाचन क्षेत्रमा पठाउने, सङ्घ र प्रदेशमा जनसहभागितामा चुनावी प्रतिबद्धतापत्रको तयारी गर्ने, निर्वाचन क्षेत्रको तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने, निर्वाचन क्षेत्रका आधारित सङ्गठन परिचालन, स्थितीको आंकलन र जन अपेक्षामा आधारित निर्वाचनमा विजयी हासिल गर्ने रणनीति बनाउने अध्यक्ष दाहालको प्रतिवेदनमा समावेश छ ।

बैठकमा अध्यक्ष दाहालले नयाँ आधारमा वामपन्थी शक्तिबीच एकता, सहकार्य र चुनावी मोर्चाबन्दी हुन सक्ने बताएका थिए । त्यसका लागि सामान्य छलफल भएको समेत उनले जानकारी दिएका थिए ।

यस्तै, पार्टीको सहायक सङ्गठन वाइसिएल, महिला सङ्गठनलगायतका जनवर्गीय सङ्गठनको भेला आयोजना गर्ने, स्पष्ट कार्ययोजनाका साथ उनीहरूलाई परिचालन गर्ने विषय पनि समावेश गरिएको प्रतिवेदनमा संविधानको रक्षा, प्रतिगमनको विरोध गर्ने समूह र शक्तिसँग सहकार्य गर्ने विषय समावेश गरिएको छ ।

अध्यक्ष दाहालले गठबन्धनमा माओवादी सबैभन्दा बढी इमान्दार देखिएको समेत प्रतिवेदनमा उल्लेख गरेका छन् । पार्टीको साङ्गठनिक अवस्थाको बारेमा अन्य दलसँग तुलना गर्दै उनले ग्रामीण क्षेत्रमा माओवादीप्रति जनताको आकर्षण उस्तै रहेको उल्लेख गरेका छन् ।

आजको बैठकमा सुदुरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी, कर्णाली प्रदेश अध्यक्ष विमला केसी, मधेश प्रदेशका इञ्चार्ज गणेश साहलगायतले आफ्नो प्रदेश मातहतको विवरण पेश गरेका थिए । उनीहरूले विशेष गरी माओवादी बलियो भएको स्थानमा अन्य दलसँग गठबन्धन गरेर कांग्रेसले समेत आफूहरूलाई हराउन सहयोगी बनेको बताएका थिए । कर्णाली प्रदेश अध्यक्ष केसीले स्थानीय तहको निर्वाचनमा गडबढी भएको भन्दै त्यस्तो प्रवृत्ति आगामी दिनमा हट्नुपर्ने धारणा राखे । बैठक सोमबार पुनः बस्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!