ललितपुर ७ जुलाई २०२२ । क्यान्सरले थलिएका आरोही शम्भू तामाङको निधन भएको छ । हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा उपचाररत ६७ वर्षीय तामाङको बिहीबार बिहान १०:१३ मा निधन भएको पारिवारिक श्रोतलाई उदृत गर्दै तामाङ रिमठीम पर्यटन संजालका अध्यक्ष अमर बम्जनले जानकारी दिए ।
तामाङको पार्थिव शरीरलाई उनकै निजी निवास महाराजगन्ज लगिने र करिब दुई दिनपछि अन्तिम संस्कार गर्ने तयारी रहेको उनले बताए । सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी गिनिज बुकमा नाम लेखाउन सफल तामाङ करिब दुई महिनादेखि क्यान्सर रोगको उपचारमा हरिसिद्धिमा थिए । उनका श्रीमती, एक छोरा, एक छोरी छन् ।
सिन्धुपाल्चोकको ह्रिस्याङगोमा जन्मिएका तामाङले सन् १९७३ मे ५ को दिन १७ वर्ष ६ महिना १५ दिनको हुँदा सगरमाथा सफल आरोहण गरेका थिए । उनले आरोहण गरेको २९ वर्षपछि मात्रै अर्का आरोही तेम्बाछिरीले १६ वर्षको उमरेमा सगरमाथा आरोहण गरेर तामाङको रेकर्ड तोडेको थियो ।






