
काठमाडौं १२ जुलाई २०२२ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले गैर आवासीय नेपालीको नागरिकतासम्बन्धी समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष दाहालको निवास खुमलटार पुगेका गैर आवासीय नेपाली संघको प्रतिनिधि मण्डललाई मंगलबार दाहालले भने, ‘गैरआवासीय नेपालीको समस्याका बारेमा हामीले पहिलेदेखि नै आवाज उठाउँदै आएका थियौं र अहिले पनि हाम्रै पहलमा सदनमा पेस भएको नागरिकतासम्बन्धी विधेयक पास गराई समस्याको समाधानका लागि प्रतिबद्ध छौं ।’
भेटवार्तामा गैर आवासीय नेपाली संघको प्रतिनिधिमण्डलले नागरिकता समस्यासहितका विषय समावेश गरी सदनमा पेस भएको नागरिकता विधेयक ल्याउनमा माओवादी पार्टीका तर्फबाट भएको पहलका लागि धन्यवाद दिँदै विधेयक सदनबाट पास गराएर गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्न पहलका लागि अनुरोध गरेको थियो । भेटघाटमा पार्टीका नेता नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो भने संघका तर्फबाट संस्थापक अध्यक्ष उपेन्द्र महतो, अध्यक्षद्वय कुल आचार्य र बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, रमेश काफ्ले लगायतको उपस्थिति थियो ।






