
काठमाडौं १४ जुलाई २०२२ । जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित ९ केन्द्रीय नेतालाई कारबाही गरेको छ । पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पर्साको वीरगन्जमा बुधबार र बिहीबार बसेको केन्द्रीय समिति बैठकले भट्टराईसहितका नेतालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
पदमुक्त हुनेहरुमा संघीय परिषद् अध्यक्ष भट्टराई, कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरी रहेको जसपा कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए ।
संघीय परिषद् अध्यक्षमा अशोक राई चयन
यसैबीच भट्टराईलाई पदमुक्त गरेसँगै संघीय परिषद् अध्यक्षमा अशोक राई चयन भएका छन् । केन्द्रीय समितिको बैठकबाट राईलाई संघीय परिषद् अध्यक्षमा जिम्मेवारी दिने निर्णय गरेको अधिकारीले जनाए । उनका अनुसार बैठकले विधान संशोधनसहित पारित गरेको छ ।
भट्टराई पक्षको मंगलबार र बुधबार काठमाडौंमा बसेको विस्तारित बैठकले जसपाबाट अलग भएर नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ ।






