
काठमाडौं २२ जुलाई २०२२ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले बहुप्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको छ । बैठकमा सो विधेयकबारे दफाबार छलफलमा सांसदहरूले राखेको जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । मन्त्री खाणले प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।
विधेयकमा भएको प्रावधानबारे वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि सात वर्ष समयसीमा तोक्ने र नेपालीसँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता लिन चाहेमा व्यवस्था हुनुपर्ने भन्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूका तर्फबाट प्रस्तुत संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको थियो । विधेयकमा ९४ विषयमा ४५ जना सांसदले संशोधन प्रस्ताव पेस गरेको थियो । वैवाहिक अङ्गीकृत नागरिकताका लागि सात वर्ष समयसीमा तोक्नेबारेमा विगतमा प्रतिनिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति भएको थियो ।
नागरिकता विधेयकका विशेषता
-२०७२ साल असोज ३ गतेअघि (नेपालको संविधान जारी हुनुपूर्व) जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।
-नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ । यस प्रावधानले कुनै महिलाले एकल अभिभावकत्वमा हुर्काएका सन्तानलाई बुवाको पहिचान नभएको अवस्थामा वंशजको नागरिकता दिने भनेको छ ।
-नेपालभित्र फैला परेका तर आमा र बुवा दुवैको ठेगान नभएको प्रत्येक नाबालकलाई निजको बाबु वा आमाको पता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिनेछ । नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु वा आमा पत्ता लागेमा उसले प्राप्त गरेको नागरिकताको सम्बन्धमा वंशजको आधारमा नागरिकता प्राप्त हुने भएमा विवरण अध्यावधिक गरी नागरिकता कायम गर्ने, अंगीकृत नागरिकता कायम हुने भएमा वंशजको आधारमा प्राप्त गरेको नागरिकता खिचिने छ ।
– नेपाली नागरिक आमाबाट नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता पाउने छ ।
-विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मिएको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।
-वंशजको आधारमा नागरिकता लिएका व्यक्तिको बुवा विदेशी नागरिक भएको पुष्टि भएमा त्यस्ता व्यक्तिको वंशजको नागरिकता फिर्ता लिइनेछ । त्यसपछि ती व्यक्तिलाई अंगीकृत नागरिकता दिइने छ ।
-बुवा विदेशी नागरिक तर बुवाको देशबाट नागरिकता नलिएको खण्डमा भने आमाको नामबाट अंगीकृत नागरिकता लिन सकिनेछ ।
-गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गरिनेछ । तर उनीहरूलाई राजनीतिक र प्रशासनिक अधिकार भने प्राप्त हुनेछैन ।
-नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ । निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको भनी निजले तोकिएबमोजिम गरेको स्वघोषणा पेस गर्नुपर्छ ।






