काठमाडौं २४ जुलाई २०२२ । नेपालका पाल्पा र भक्तपुरमा आइतबार सवारी दुर्घटना हुँदा ९ को मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नंको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । मृतकको सनाखत भएको छैन ।
बसमा २२ जना यात्रु सवार रहेको बुझिएको छ । बस सडकदेखि करिब ६० मिटर तल खसेको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
यस्तै भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडक छेउको सल्लाको रूख ढलेर बस र स्कुटर किच्दा तीन जनाको मृत्यु भएको छ ।
दिउँसो काठमाडौँबाट यात्रु बोकेर दूधपाटी हुँदै कमलविनायक जाँदै गरेको बा२ख ३५८४ नंको बस र दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९७८ नंको स्कुटरलाई ढलेको रूखले किच्दा बसमा सवार दुई तथा स्कुटरमा सवार एक जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा बसमा सवार भक्तपुर नगरपालिका–२ व्यासीका २५ वर्षीय विशेष खर्बुजा, चाँगुनारायण नगरपालिका–२ का ५५ वर्षीय न्हुच्छेराम बखाद्यो र स्कुटरमा सवार सर्लाहीको हरिवन नगरपालिका–४ का ४५ वर्षीय राजकुमार भुजेल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
घाइतेहरुको इवामुरा अस्पताल सल्लाघारी, भक्तपुर इन्टरनेशनल अस्पताल कौशल्टारमा उपचार भइरहेको छ ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उपचारको व्यवस्था तत्काल मिलाउन निर्देशन दिएका छन् । यस्तै प्रतिनिधिसभामा भक्तपुरबाट प्रतिनिधित्व गर्ने सांसद प्रेस सुवालले आएतबा संसद्मा बोल्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको उपचार गर्न सरकारसँग माग गरे ।






