
भरतमणि चोङबाङ
लन्डन । अध्यक्षको सहमतिबिनै गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सदस्यता शुल्कवापत आइसीसीलाई ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स बुझाएपछि विवाद नयां मोडमा पुगेको छ ।
अध्यक्ष प्रेम गाहामगरले रकम पठाएकै दिन बिहीबार सांझ आफ्नो फेसबुक पेजमा लाइभ गर्दै आइसीसीलाई कार्यसमितिको वहुमतको सहमति बिना र एजेण्डामै नभएको प्रस्तावमा छलफल गरि लेवी पठाइएको दावी गरे ।
अघिल्लो रातदेखि नै कार्यसमितिलाई अब संस्था खारेज हुन्छ भन्ने मानसिक त्रास देखाएर त्यस्तो निर्णय गरिएको उनको जिकिर छ । अब संस्था फ्रयाक्सन हुने बाटोमा लागेको चेतावनी पनि उनले दिएका छन् ।
‘३२ जनाको कार्यसमितिमा आइतबारको बैठकमा १७ जनामध्ये १४ जनाले मात्र सहमति छ भन्नुभएको थियो’, अध्यक्ष गाहामगरले भने, ‘मेरो र कार्यसमितिका कयौं साथीहरुको चाहना विपरित विवादास्पद एनआरएनए आइसीसीलाई झण्डै ४० हजार पाउण्ड पठाइयो । विगत देखि नै मैले त्यो पैसा नेपाल पठाउनुको सट्टा बरु बेलायतमै सामुदायिक भवन नेपाल हाउस बनाउं । त्यसले नेपालको अपनत्व गराउंछ भन्ने कुरामा जोड दिइरहेको थिएं । दुष्मन र भाइरसहरुको आंखा लागेर यस्तो काम भयो ।’
विधान विपरित बैकिंग कारोबारमा अध्यक्षको हस्ताक्षर नगरि कोषाध्यक्षलेमात्र रकम पठाउनु आफ्नो अपहेलनामात्र होइन्, समस्त पञ्जीकृत सदस्यहरुको भावनामाथि नै कुठाराघात भएको गाहामगरले बताए ।
अध्यक्ष प्रेम गाहामगरले बेलायतका पञ्जीकृत सदस्यहरुलाई अब अगाडि आएर यस्ता गतिविधिहरुविरुद्ध प्रतिवाद गर्न पनि आग्रह गरेका छन् ।
‘तपाईंहरु अब बोल्ने बेला आएको छ । यदि मेरो कार्यशैली ठीक लागेन भने स्पष्ट भन्नुस्, ६ अगष्टको वार्षिक साधारणसभाबाट मलाई हटाउनुस् । तर अरु कसैले आफ्नो स्वार्थपूर्तिका लागि संस्थालाई दुरुपयोग गर्छ भने नछोड्नुस्’, उनले अनुरोध गरे ।
भविष्यमा फेरि पनि आर्थिक अपचलन नहोस् भनेर बैंकमा अध्यक्षको समेत हस्ताक्षर अनिवार्य चाहिने प्रक्रिया अगाडि बढेको उनले जनाए ।”






