
काठमाडौं ६ अगस्ट । नेपाल तामाङ घेदुङले संघीय कार्यालय भवन (ग्रेन गे दिम) खरिदको लागि आर्थिक संकलन अभियान घोषणा गरेको छ ।
काठमाडौंको रोयल दरबार प्यालेस महाराजगञ्जमा शुक्रबार कार्यक्रम आयोजना गरी सामूहिकरुपमा व्यानर वाचन गरेर अभियान घोषणा भएको हो । घोषणाकै दिन कार्यक्रममा उपस्थित सहयोगदाताहरु र प्रवासस्थित विभिन्न तामाङ संस्थामा आबद्ध व्यक्तिहरुले भवन खरिदका लागि आफ्नो तर्फबाट स्वघोषणा गरेका थिए ।
सोही दिन भवन तथा जग्गा खरिदका लागि घेदुङका सहअध्यक्षकुमार सिंह घिसिङ र वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोनबीच बैनाबट्टा भई १८ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । घेदुङको साउन १९ गते बसेको दोस्रो सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष ब्लोनलाई खरिद प्रक्रियाको काम पूरा गर्न संस्थागतरुपमा प्रतिनिधि तोकेको थियो ।
पोखरामा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनदेखि नै घेदुङले कार्यालय भवन बनाउने योजना अघि सारे पनि त्यो पूरा हुन सकेको थिएन । त्यसपछि प्रत्येक पटकको महाधिवेशन र भेलाहरुमा घेदुङको भवन बनाउने कुरा मुख्य एजेन्डा बन्दै आएको थियो । सातौं राष्ट्रिय महाधिवेशनपछि यो मुद्दा अझ प्राथमिकताका साथ उठेको र आज बल्ल आएर त्यसले एउटा मुर्त रुप लिन लागेको सहअध्यक्ष कुमार सिंह घिसिङले बताए ।
घेदुङको २०७८ चैत १ गते सम्पन्न नवौं संघीय महाधिवेशनको म्यान्डेटबमोजिम काठमाडौंको बौद्ध, चुच्चेपाटी (लाहुरेटोल) स्थित सात आना जग्गामा बनेको ४ तले बिल्डिङ भवन खरिद गर्ने निर्णय भएको थियो । हाल उक्त भवन र जग्गा घेदुङकै चार जना जिम्मेवार पदाधिकारीको नाममा आइसकेको हुँदा सो भवनमा परेको रकम चुक्ता गर्नका लागि घेदुङले आर्थिक संकलन अभियान घोषणा गरेको हो ।
कार्यक्रममा घेदुङको पूर्वअध्यक्ष तथा सल्लाहकार परशुराम तामाङ, सल्लाहकार तथा सांसद हितबहादुर तामाङ, वाग्मती प्रदेशसभाका उपसभामुख तथा सल्लाहकार राधिका तामाङ, पूर्वमन्त्री तथा सल्लाहकार दावा तामाङ, पूर्वमन्त्री तथा सल्लाहकार दिलमान पाख्रिन, पूर्वमन्त्री तथा सल्लाहकार परशुराम तामाङ, पूर्वमन्त्री रेशम लामा, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, सल्लाहकार डा. मुक्तसिंह लामा, सल्लाहकार भीमबहादुर गोले, सल्लाहकार कवेलबहादुर लामालगायत व्यापारी, उद्योगपति, शुभेच्छुक महानुभावहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले यस वर्षलाई घेदुङको भवन खरिद गर्ने आन्दोलन वर्षको रुपमा लिनुपर्ने उद्घोष गरे । उनले भने, ‘सामाजिक संस्थामा आमसहमति जुटाउन कठिन हुने भएको हुँदा हामीले यसरी लामो समय भवन खरिद गर्न सकेनौं । अब महाधिवेशनको म्यान्डेट, संघीय कार्यसमिति र सचिवालयको निर्णय भई सबै प्रक्रिया पूरा गरिसकेको हुँदा अन्यथा नलिन उनले आग्रह गरे ।
अध्यक्ष गोलेले आगामी चैत १ गतेभित्रमा अभियान पूरा गर्ने लक्ष्य रहेको बताउँदै सबैको ऐक्यबद्धता, साथ र समर्थनबाट मात्र भवन खरिदको प्रक्रिया पूरा हुने हुँदा सबैलाई एकपटक मुठ्ठी खोल्न अपील गरे ।
त्यसैगरी नेपाल तामाङ घेदुङका पूर्वअध्यक्ष परशुराम तामाङले अभियान सफलताको शुभकामना दिँदै यसलाई अघि बढाउने कुरामा प्रतिबद्धतासहति सहयोगको समेत घोषणा गरे । उनले सल्लाहकारहरुलाई पनि रकम संकलनका लागि जिम्मेवारी दिनुपर्ने बताए ।
घोषणासभामा सांसद तथा सल्लाहकार हितबहादुर तामाङ, वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङ, पूर्वमन्त्री दावा तामाङ, पूर्व राज्यमन्त्रीहरु दिलमान पाख्रिन, रेशम लामा, परशुराम तामाङलगायतले सहयोगको वचनबद्धता व्यक्त गरेका थिए ।
घेदुङले यो अभियान पूरा गर्नका लागि सहअध्यक्ष कुमारसिंह घिसिङको संयोजकत्वमा संघीय परिचालन समिति, प्रदेश अध्यक्षको संयोजकत्वमा प्रदेश परिचालन समिति र स्थानीय समिति अध्यक्षको नेतृत्वमा स्थानीय समिति समेत तीन तहको आर्थिक संकलन परिचालन समिति गठन गरेको छ ।
यसैगरी समितिलाई बेलाबेलामा आवश्यक दिशानिर्देश तथा सुझाव दिनको लागि पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, राजनीतिज्ञहरु, स्थानीय तहको तामाङ प्रमुख, उपप्रमुखहरु र अन्तर्राष्ट्रिय तामाङ परिषद्का पदाधिकारी समेतलाई समेटेर एक सल्लाहकार समिति निर्माण गरेको छ ।
भवन तथा जग्गा खरिदका लागि कम्तीमा १,००० देखि माथि आर्थिक संकलन गर्ने र स्वदेश तथा प्रवासका सबै तामाङ समुदायलाई यो अभियानमा जोड्ने घेदुङले लक्ष्य लिएको छ । अपीलमा भनिएको छ, ‘यो अभियानमा नाम लेखाउनबाट कोही पनि तामाङ नछुटून् र गर्वले भनुन् कि हाम्रो पनि याम्बुमा एउटा सामुदायिक घर छ ।’
यसरी घेदुङको नवौ संघीय महाधिवेशनबाट निर्वाचित नयाँ टिम नयाँ जोशका साथ वर्षौदेखिको सपना पूरा गर्ने दृढ इच्छाशक्तिका साथ लागेको छ । त्यसको लागि प्रवास र स्वदेशको होल टिमलाई घेदुङले तल्लो तहसम्म परिचालन गर्न सक्नुपर्छ । जसरी घोषणाको दिन रकम संकलनको प्रतिबद्धता भयो र सबैले अभियान सफल बनाउन आफ्नो तर्फबाट बचनबद्धता व्यक्त गरे, त्यस अनुसार जान सक्यो भने घेदुङले केही महिनामा नै रकम संकलनको काम पूरा हुनेमा कुनै शंका छैन ।






