काठमाडौं साउन २३ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछाने युएईको फ्रेन्चाइज क्रिकेट युएई इन्टरनेसनल टी–२० लिगको मार्की खेलाडीको सूचीमा परेका छन् ।
इमिरेट्स क्रिकेट बोर्डले पहिलो संस्करणका लागि सन्दीपलाई मार्की खेलाडीको सूचीमा राखेको हो । बोर्डले सोमबार सन्दीपसहित २१ खेलाडीलाई मार्कीको रुपमा राखिएको जनाएको हो । प्रतियोगिता आगामी ६ जनवरीदेखि १२ फेब्रुअरीसम्म हुनेछ । ६ टोलीले सहभागिता जनाउने प्रतियोगितामा कुल ३४ खेल हुनेछन् ।
प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी राख्न पाउनेछन् । जसमा १२ विदेशी खेलाडी राख्न पाइनेछ । प्लेइङ–११ मा भने कम्तीमा एकजना युएई र एसोसिएट राष्ट्रका खेलाडी हुनुपर्नेछ । यस्तै, हरेक टोलीले तीनजना युएईका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक युएई यू–२३ टोलीका खेलाडी राख्नुपर्ने नियम बनाइएको छ ।






