काठमाडौं अगस्ट १४ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, कानूनमन्त्री गोविन्द कोइराला र महान्यायाधिवक्ता खम्बबहादुर खातीसँग छलफल गरेकी राष्ट्रपति भण्डारीले संघीय संसद्का दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पेश भएको नागरिकता विधेयक फिर्ता पठाएकी हुन् ।
गत साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयकमा पुनर्विचार हुन आवश्यक देखिएकाले फिर्ता पठाइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। संविधानको धारा ११३ को उपधारा ३ बमोजिम राष्ट्रपतिलाई विधेयक पुनर्विचार गर्नुपर्छ भन्ने लागेर संसद्मै फिर्ता पठाएको प्रवक्ता सागर आचार्यले निकालेको विज्ञप्तिमा लेखिएको छ ।
संसद्का दुवै सदनले फेरि जस्ताको तस्तै पारित गरी पठाएको अवस्थामा भने १५ दिन भित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बाध्यता छ ।







