एजेन्सी अगस्ट १६।

म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई सोमबार भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै थप छ वर्ष जेल सजाय तोकिएको छ ।
आङ सान सुकीलाई आफ्नो पदको दुरुपयोग गरी सार्वजनिक जग्गा बजारभन्दा कम मूल्यमा भाडामा लिएको आरोप लगाइएको छ । उनलाई थप छ वर्षको जेल सजाय दिइने अल जजीराले एक कानूनी अधिकारीलाई उद्धृत गर्दै जानकारी दिएको छ । ७७ वर्षीया सुकीलाई सन् २०२१ को फेब्रुअरीमा सेनाले म्यानमारमा सत्ता कब्जा गरेपछि देशद्रोह, भ्रष्टाचार र अन्य आरोपमा ११ वर्षको जेल सजाय सुनाएको थियो । यद्यपि, आङ सान सुकीले सबै आरोप अस्वीकार गरेकी थिइन् ।
यो निर्णय लोकतान्त्रिक रूपमा निर्वाचितहरूलाई बदनाम गर्ने सैनिक सरकारको अर्को हताश प्रयास भएको म्यानमारका राष्ट्रिय एकता सरकारका विदेशमन्त्री जिन मार आङले बताए । म्यानमार सैनिक सरकारको आलोचना गर्दै उनले आङ सान सुकीको रिहाइको लागि पनि आह्वान गरे ।
आङ सान सुकी र उनका सहयोगीहरूविरुद्ध लगाइएका धेरै आरोपहरू सुकीलाई चुनावमा अलोकप्रिय बनाइ राजनीतिबाट हटाउने प्रायास भएको विश्लेषकहरूले बताएका छन् ।






