दार्चुला सेप्टेम्बर १० ।

दार्चुलामा बाढी र पहिरोमा परि पाँच जनाको मृत्यु भएको छ ।
नौगाड गाउँपालिका र महाकाली नगरपालिकामा आएको बाढीमा परि ११ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दले जानकारी दिए । नौगाड गाउँपालिकाका जानकी ठगुन्ना, धनुली ठगुन्ना, मोहनराम पार्की, महाकाली नगरपालिका वडा नम्बर एककी मानमती कार्की र महाकाली नगरपालिका वडा नम्बर २ का नन्दराम बोहराको मृत्यु भएको हो ।
नन्दरामको बाढीमा परि मृत्यु भएको हो भने बाँकी चार जनाको पहिरोका कारण मृत्यु भएको चन्दले जानकारी दिए । बाढीमा परि बेपत्ता ११ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । १० जना गम्भीर घाइते भएका छन् । बाढीरपहिरोका कारण महाकाली नगरपालिका, दुहु गाउँपालिका र नौगाड गाउँपालिकामा २० वटा घरमा क्षति पुगेको छ ।
दार्चुला–तिङ्कर सडकमा पर्ने लास्कुखोलामाथिको झोलुङ्गे र मोटर पुलसमेत बगाएको छ । एउटा विद्यालयमा पनि क्षति पुगेको छ ।






