
पूर्ण गुरुङ, लण्डन ।
बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बेलायतकी महारानी एलिजावेथ द्धितियप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । गत सोमबार १९ सेप्टेम्बर अर्थात् स्वर्गिय महारानी एलिजाबेथको अन्तिम संस्कार (फ्यूनरल) का दिन बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा बौद्ध परम्परानुसार श्रद्धाञ्जलीसभाको आयोजना गरी शोक व्यक्त गरेको हो ।
बीसीसी युकेका धर्मगुरु टुल्कु जिग्मे सामतेन, खेन्पो केल्जङ र लोपेन नोर्बुले स्वर्गिय महारानी एलिजावेथ द्धितियको दिवंगत आत्माको शान्तिका लागि बौद्ध परम्परानुसार मर्मे पाठ, मलम पाठ, छोक पुजा गरेका थिए । त्यस्तै, बीसीसी युकेका श्रेद्धय लामा गुरुहरु, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, आमा सचिव शारदा गुरुङ, आमा सहसचिव पवित्र गुरुङ, सल्लाहकार जंग बहादुर गुरुङ, आमा सल्लाहकार लालकुमारी गुरुङलगायत आमाहरुले दीप प्रज्ज्वलन गरी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
उक्त श्रद्धाञ्जली सभामा बीसीसी युके अध्यक्ष धर्म तामाङ्गले महारानी एलिजावेथ द्धितियप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै आफूले संघसंस्थाको सामाजिक अभियन्ताको हैसियतले स्वर्गिय महारानीसंग २ पटक दरवारमा भेट गर्ने अवसर प्राप्त गरेको बताए । साथै, उनले प्रत्येक अगष्ट महिनामा बकिमहम प्यालेसमा अर्थात् दरवार सर्वसाधारणका लागि खुल्ला हुने बताउँदै सबैलाई भ्रमण गर्न आग्रह गरे । त्यस्तै, उनले उक्त दरवार भ्रमणका लागि गोर्खाज परिवारले निःशुल्क भ्रमण गर्न सकिने समेत जनाए ।
त्यस्तै, बीसीसी युकेका महासचिव क्याप्टेन देब घलेले औपचारिक कार्यक्रमको संचालन गर्दै स्वर्गिय महारानीको जन्म, राज्यभिषेक, ७० बर्षे राज्यकालका साथसाथै बीसीसी युकेले बेलायतको राजपरिवारप्रति गर्दै आएको श्रद्धा र सम्मानबारे जानकारी दिए ।
स्मरण रहोस्, बीसीसी युकेले बेलायतकी महारानी एलिजावेथ द्धितियको स्वर्गारोहणको सातौं दिन स्वर्गिय महारानीको दिवंगत आत्माको चीर शान्तिका लागि धर्म गुरुहरु एवं भक्तजन तथा शुचचिन्तकहरुले मर्मे र मलम पाठ सहित १०८ वटा दीप प्रज्ज्वलन गरेका थिए । त्यस्तै, गत शनिबार बीसीसी युकेका महासचिव क्याप्टेन देब घले, धर्मगुरु लोपेन नोर्बु, तेमसाङ तामाङ, पदम तामाङ्लगायत बकिङ्हम प्यालेसमा गई बीसीसी युकेको तर्फबाट स्वर्गिय महारानीको पार्थिव शरीरमा माल्र्यापण गरेका थिए ।






