
काठमाडौं २० सेप्टेम्बर २०२२। प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचनतर्फ ४८ राजनीतिक दलले बन्दसूची पेस गरेका छन् ।
निर्वाचन आयोगले दिएको जानकारीअनुसार निर्वाचन प्रयोजनका लागि निवेदन दिएका ६८ दलमध्ये ४८ ले सोमबार रातिसम्ममा प्रतिनिधिसभा सदस्यतर्फ बन्दसूची बुझाएका हुन् । प्रतिनिधिसभा समानुपातिक सिट संख्या ११० रहेको छ ।
५५ दलले निवेदन दिएको प्रदेश १ मा ३६ दलले समानुपातिक तर्फ बन्दसूची पेस गरेका छन् । जहाँ समानुपातिक सिट संख्या ३७ रहेको छ ।
मधेसमा निवेदन दिएका ५९ दलमध्ये ३६ ले बन्द सूची बुझाएका छन् । यो प्रदेशमा समानुपातिक सिट ४३ रहेका छन् । वाग्मती प्रदेशमा ५८ दलले निवेदन दिए पनि ४० वटाले मात्रै बन्दसूची बुझाएका छन् । यहाँ समानुपातिक सिट संख्या ४४ रहेको छ । ५२ दलले निवेदन दिएको गण्डकीमा ३१ दलको बन्दसूची दर्ता भएका छन् । यहाँ समानुपातिक २४ सिट रहेका छन् ।
लुम्बनी प्रदेशमा दलको निवेदन ५४, बन्दसूची बुझाउने दल ३२ छन् भने समानुपातिक सिट संख्या ३५ रहेको छ । कर्णालीमा भने २८ दलले बन्दसूची पेस गरेका छन् । जहाँ निर्वाचन प्रयोजनका लागि ४९ दलको निवेदन परेको छ । समानुपातिक सिट संख्या १६ रहेको छ ।
सुदूरपश्चिममा ५० दलको निवेदन रहेको छ जहाँ ३४ दलले बन्दसूची पेस गरेका छन् । यहाँ २१ सिट समानुपातिकका लागि छुट्याइएको छ । संघ र प्रदेश निर्वाचन आउँदो मंसिर ४ गतेका लागि तोकिएको छ । उक्त आमनिर्वाचनको तालिका अनुसार आइतबार र सोमबार समानुपातिकतर्फ बन्दसूची पेस गराइएको हो ।






