काठमाडौं सेप्टेम्बर २२ ।

मकवानपुरको भीमफेदी गाउँपालिका जुरीखेतमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
६ जनाको घटना स्थलमै र एक जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।
दुर्घटनामा २४ जना घाइते भएका छन् । काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना३ ख ७८५८ नम्वरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो। ओरालो बाटोमा माथिल्लो घुम्तीबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्किएको छ ।
घाइतेहरुको हेटौंडा र काठमाडौंका अस्पतालहरूमा उपचार भइरहेको छ । बस दुर्घटनाग्रस्त हुदा काठमाडौं जाँदै गरेको मधेस प्रदेश–०३–००१ ज ०२७१ नम्बरको सुमोमा ठोक्किएको प्रहरी प्रमुख गौत्तमले बताए ।






