काठमाडौं सेप्टेम्बर २७ ।

राजधानी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल नेपालले ३-१ गोलले जितेको छ ।
अन्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले पहिलो हाफमै ३ गोलको अग्रता लिएको थियो। अन्जनले पहिलो हाफको १८औं, २७औं र ३८औं मिनेटमा गोल गरेका थिए । बंगलादेशले गोल फर्काउन निकै कसरत गरे पनि १ गोलमात्र गर्न सक्यो। बंगलादेशका सजाद होसेनले एक गोल फर्काए। उनले ५५ औं मिनेटमा गोल गरी बंगलादेशलाई ३-१ को स्थितिमा ल्याएका थिए ।
ह्याट्रिक गरेसँगै फरवार्ड अन्जन विष्ट नेपालका लागि अन्तरराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी भएका छन्। नेपालका लागि अन्जनले आजसमेत गरेर १० गोल गरे । यसअघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन् । आजको जितसँगै नेपाल पछिल्ला ५ खेलमा बंगलादेशसँग अपराजित यात्रालाई निरन्तरता दिएको छ। नेपाल र बंगलादेशबीच हालसम्म २७ पटक खेल हुँदा बंगलादेश १४ खेलमा विजयी भएको छ।
नेपाल ८ खेलमा विजयी हुँदा ५ खेल बराबरीमा सकिएको छ। पछिल्लो ५ खेलमध्ये नेपालले पछिल्लोपटक गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो । त्यसअघि नेपालमै भएको थ्रि नेसन्स कपमा बंगलादेशलाई २–१ ले हराएर उपाधी जितेको थियो ।
थ्रि नेसन्स कपकै लिग चरणमा गोलरहित बराबरी र त्यसअघि बंगलादेशमा भएको पहिलो मैत्रीपूर्ण खेल २–० ले गुमाएको नेपालले त्यसपछि गोलरहित बराबरी खेलेको थियो ।






