फ्रान्सलाई विश्व कप

SHARE:

मस्को । युरोपेली राष्ट्र फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । फ्रान्सले आइतबार राति भएको फाइनलमा क्रोएसियालाई ४–२ गोलले हराउँदै उपाधि चुमेको हो ।

फ्रान्स यसअघि सन् १९९८ मा आफैंले आयोजना गरेको १६औं विश्वकपको उपाधि जितेको थियो । फ्रान्सलाई उपाधि दिलाउन एन्टोइन ग्रिजम्यान, पल पोग्बा र केलियन एमबाप्पेले एक/एक गोल गरे । अर्को एक गोल भने क्रोएसियाका मारियो मान्जुकिचबाट आत्मघाती रूपमा भएको थियो । क्रोएसियाका लागि भने इभान पेरिसिच र मारियो मान्जुकिचले एक/एक गोल गरे ।

फ्रान्सले पहिलो हाफको १८औं मिनेटमा क्रोएसियन डिफेन्डर मारियो मान्जुकिचको आत्मघाती गोलबाट अग्रता लिएको थियो । फ्रिकिकमा ग्रिजम्यानले प्रहार गरेको बल क्लियर गर्ने क्रममा बल मान्जुकिचको टाउकोमा ठोक्किएर आफ्नै पोस्ट्मा छिरेको थियो । सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको क्रोएसियाले २८औं मिनेटमा बराबरी गोल फर्कायो । डोमागोज भिडाले उपलब्ध गराएको बलमा डी एरियाभित्र रहेका इभान पेरिसिचले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
यसैगरी ३७औं मिनेटमा फ्रान्सले पेनाल्टीको अवसर पायो । टोलीका लागि बराबरी गोल गरेका पेरिसिचले डीबक्सभित्र ह्यान्ड गरेपछि अर्जेन्टिनी रेफ्री नेस्टर पिटानाले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) हेरेर फ्रान्सलाई पेनाल्टी प्रहारको अवसर दिएका थिए । सोही अवसरको सदुपयोग गर्दै ग्रिजम्यानले ३८औं मिनेटमा टोलीलाई २–१ को अग्रता दिलाए ।

पहिलो हाफमा २–१ गोलले अघि रहेको फ्रान्सले त्यसपछि रक्षात्मक खेल खेलेको थियो । क्रोएसियाको लगातारको आक्रमणलाई विफल बनाएको फ्रान्सले ५९औं मिनेटमा काउन्टर एट्याकमा गोल ग¥यो । टोलीका प्लेमेकर ग्रिजम्यानले डीबक्सभित्र उपलब्ध गराएको पासमा पल पोग्बाले दोस्रो प्रयासमा गोल गरे । पहिलो प्रहार क्रोएसियन रक्षकले ब्लक गरेपछि उनले दोस्रो प्रयासमा उत्कृष्ट गोल गरे ।

रक्षात्मक खेल खेल्दै काउन्टर एट्याक गरेको फ्रान्सले ६५औं मिनेटमा चौथो गोल गर्न सफल भयो । युवा स्ट्राइकर एम बाप्पेले गोल गर्दै अग्रता फराकिलो बनाए । ६९औं मिनेटमा भने फ्रान्सले अस्वभाविक गोल खान पुग्यो । ओलिभर गिरोडले टोलीका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसलाई दिएको बल ढिलो क्लियर गर्दा मारियो मान्जुकिचले गोल गर्दै अग्रता कम गरेका थिए । त्यसपछि कुनै गोल भएन र फ्रान्सले दोस्रो पटक उपाधि जित्न सफल भयो ।

फ्रान्स यसअघि सन् २००६ को विश्वकपमा पनि फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित भएको थियो । सन् १९९८ को विश्वकपको फाइनलमा भने फ्रान्सले ब्राजिललाई ३–० गोलले हराउँदै उपाधि हात पारेको थियो । दोस्रो पटक विश्वकप जित्ने फ्रान्स तेस्रो टोली हो । फ्रान्सभन्दा अघि उरुग्वे र अर्जेन्टिनाले दुई/दुई पटक विश्वकप जितेका छन् ।

यसैगरी ब्राजिलले हालसम्म सर्वाधिक पाँच पटक उपाधि जितेको छ भने इटाली र जर्मनी चार/चार पटक उपाधि उचालेका छन् । यस बाहेक इङ्ल्यान्ड र स्पेनले एक/एक पटक उपाधिमाथि कब्जा जमाएका छन् । फ्रान्स सबैभन्दा बढी विश्वकपको फाइनलमा पुग्ने तेस्रो युरोपेली राष्ट्र हो । फ्रान्सभन्दा बढी जर्मनी आठ पटक र इटाली ६ पटक विश्वकपको फाइनलमा पुगेका थिए ।

फ्रान्सेली टोलीका ४९ वर्षीय प्रशिक्षक डिडियर डेसच्याम्पसका लागि पनि यो विश्वकप विशेष रह्यो । उनी आफ्नो टोलीलाई पहिले खेलाडी र त्यसपछि प्रशिक्षकका रुपमा विश्वकप दिलाउने तेस्रो ब्यक्ति बने । यसअघि ब्राजिलका मारियो जागाल्लो र जर्मनीका फ्रान्ज बेकनबाउरले आफ्नो देशलाई पहिले खेलाडी र त्यसपछि प्रशिक्षकको भूमिकामा विश्वकपको उपाधि चुमाएका थिए । फ्रान्सले सन् १९९८ को विश्वकप जित्दा डेसच्याम्पस टोलीका कप्तान थिए । खेलाडीको भूमिकामा फ्रान्सलाई उपाधि दिलाएको २० वर्षपछि उनले प्रशिक्षकको भूमिकामा अर्को उपाधि चुमाएका हुन् ।

तथ्याङकमा २१औं विश्वकप
कुल टोली : ३२
कुल खेल : ६४
कुल खेलाडी : ७३६
कुल गोल : १६३
कुल आत्मघाती गोल : ११
कुल पहेँलो कार्ड : २१६
कुल रातो कार्ड : ४
कुल ह्याट्रिक : २
कूल पेनाल्टी गोल : २१
कूल असफल पेनाल्टी : ७
सर्वाधिक गोलकर्ता : हेरी केन (इङ्ल्यान्ड : ६ गोल)
पहिलो गोल : युरी गाजिनस्की (रुस, साउदीविरुद्ध)
पहिलो ह्याट्रिक : क्रिस्टियानो रोनाल्डो (पोर्चुगल, स्पेनविरुद्ध)
दोस्रो ह्याट्रिक : हेरी केन (इङ्ल्यान्ड, पानामाविरुद्ध)
सबैभन्दा छिटो गोल : म्याथिस जोर्गेन्सन (डेनमार्क, क्रोएसियाविरुद्ध)
पहिलो पहेँलो कार्ड : एलेक्डेन्डर ग्लोभिन (रुस, साउदीविरुद्ध)
पहिलो रातो कार्ड : कार्लोस सान्चेज (कोलम्बिया, जापानविरुद्ध)
सर्वाधिक पहेँलो कार्ड : क्रोएसिया (१४ वटा)
सर्वाधिक गोल गर्ने टोली : बेल्जियम (१६ गोल)
सर्वाधिक गोल खाने टोली : पानामा (११ गोल)
एउटै खेलमा सर्वाधिक गोल गर्ने टोली : इङ्ल्यान्ड (६ गोल, पानामाविरुद्ध)
सबैभन्दा जेठा गोलकर्ता : पानामाका फेलिप बालोय (३७ वर्ष १२० दिन, इङ्ल्यान्डविरुद्ध)
सबैभन्दा कम उमेरका गोलकर्ता : फ्रान्सका केलियन एमबाप्पे
(१९ वर्ष १८३ दिन, पेरुविरुद्ध)
एक खेल पनि नजित्ने टोली :
अस्ट्रेलिया, कोस्टा रिका, इजिप्ट, आइसल्यान्ड, मोरक्को र पानामा
समूहगत चरणमा तीनवटै खेल जित्ने टोली : क्रोएसिया, बेल्जियम र उरुग्वे
सबैभन्दा जेठा प्रशिक्षक : उरुग्वेका ओस्कर टाबरेज (७१ वर्ष १०४ दिन, इजिप्टविरुद्ध)
सबैभन्दा कान्छा प्रशिक्षक : सेनेगलका एलोउ सिसे (४२ वर्ष ८७ दिन, पोल्यान्डविरुद्ध)
सबैभन्दा जेठा खेलाडी : इजिप्टका इसाम एल हादारी (४५ वर्ष ५ महिना)
सबैभन्दा कान्छा खेलाडी : अस्ट्रेलियाका ड्यानियल अर्जानी (१९ वर्ष १६३ दिन)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!