काठमाडौं सेप्टेम्बर ३० ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको संरक्षणको लागि घरपरिवारदेखि राज्यतहसम्मका सबै संयन्त्र र संरचना सक्रिय र सहयोगी रहनुपर्ने उल्लेख बताएका छन् ।
३२ औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देशमार्फत उनले ज्येष्ठ नागरिकलाई सदैव स्नेह र सद्भाव प्रकट गर्न, उनीहरूमाथि कुनै पनि किसिमको दुव्र्यवहारको घटना घट्न नदिन र उच्च प्राथमिकताका साथ राज्यका तर्फबाट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनीहरूलाई पहिलो प्राथमिकता दिई उच्च सम्मान दर्शाउन सबै प्रतिबद्ध हुन आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।
“यसको लागि म सम्बद्ध सबै निकायलाई निर्देशन दिन चाहन्छु । परापूर्वकालदेखि हाम्रो सामाजिक–सांस्कृतिक परम्परामा चलिआएको ज्येष्ठ नागरिकलाई आदर र सम्मान गर्ने परम्परालाई अक्षुण्ण राख्दै यो ज्ञान नयाँ पुस्तासमेतमा हस्तान्तरण गर्न आवश्यक छ”, प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।






