रोशन मेवाहाङ्ग
लन्डन । बेलायतमा नेपाली फुटबल प्रतियोगिता निकै आकर्षक बन्दै गएको छ । अल्डरसटस्थित क्वीन्स एभिन्यू सैनिक ग्यारिजनको रंगशालामा हरेक वर्ष नेपाल कप फुटबल प्रतियोगिता हुने गरेको छ । यो ब्रिगेड अफ गोर्खाजमा कार्यरत बेलायती गोर्खा सैनिकहरुबीच मात्र हुने फुटबल प्रतिस्प्रर्धा हो ।
यसपटक ६८ औ संस्करणको नेपाल कपको फाइनल खेलमा दोस्रो गोर्खा बटालियनले पहिलो गोर्खा बटालियनलाई ३–२ ले हराउँदै उपाधि हात पारेको छ । ३ वर्षका लागि ब्रुनाई राजदरबारका लागि सुरक्षामा खटिएका दोस्रो गोर्खा बटालियनको यो दोस्रो जित हो ।
विजयी टिमलाई फूमालाले सजिएको गाडीमा चढाएर आर्मी ब्यारेक परिसरभित्र परिक्रमा गराउदै बटालियनका गुल्मापति कर्णेल जेसी मुरेले खादा र अबिर लगाउँदै बधाई तथा स्वागत गरेका थिए ।
यो वर्षको प्रतियोगितामा दोस्रो गोर्खा बटालियन, क्वीन्स गोर्खा इन्जिनियर, तालिम केन्द्र क्याट्ररिक, गोर्खा मण्डले, गोर्खा सिताङ, पहिलो गोर्खा बटालियन, क्वीन्स गोर्खा सिङ्नल, क्वीन्स ओन गोर्खा लजिस्टिक रेजिमेन्ट, क्लोज सर्पोट ट्रप्स, गोर्खा स्टाफ पर्सनल सर्पोट कम्पनी (जिएस पिएस), विशिष्ट हतियार स्कुल, टयावेलेटो कम्पनी वामिर्निस्टर, आर्क बटालिनलगायत १२ टिमले रवाफिलो प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितालाई बिएफ बिएस गोर्खा रेडियोका प्रस्तोता रुपा राणाले प्रत्यक्ष प्रसारण गरेकी थिइन् ।
नेपाल कप विग्रेड अफ गोर्खाजभित्र विशेष महत्वपूर्ण खेलकुद प्रतियोगिता मानिन्छ । प्रवासी भूमिमा रहेका भूपू गोर्खा, कार्यरत गोर्खा सैनिक र सबै नेपालीहरुमाँझ भेटघाट र मनोरन्जन गरिने मुख्य उद्देश्य हुन् ।
अहिलेको आधुनिक परिवेशमा प्रेमीप्रेमिका, ईष्टमित्र, आफन्त र हितैषी दौंतरीहरु समेत भेटघाट हुने समावेशीताको उदाहरण बनेको पाइन्छ ।
बेलायतको नेपाली समुदायमा आयोजना हुने सबै भन्दा पुरानो र चर्चित मानिने नेपाल कप नेपालको पूर्वप्रधानमंन्त्री मोहनशमशेर जंगबहादुर राणाले गोर्खा विग्रेड भारतबाट स्वतन्त्र भएपछि सन् १९४७ बाट थालनी गराएका थिए ।
नेपाल कप
अल्डरसट सैनिक ग्यारिजनको रंगशालामा २९ जुनबाट नकाउट चरण सुरुआत गरिएको थियो । क्वीन ओन गोर्खा रेजिमेन्टलाई सेमिफाइनलमा हराउँदै दोस्रो गोर्खा बटालियन फाइनल खेलमा प्रवेश गरेको हो । दोस्रो गोर्खा बटालियनले सन् २०१३ मा टिम प्रबन्धक वारेन्ट अफिसर टु ईन्टेक ९९ का अरुणहाङ नेम्वाङको नेतृत्वमा इतिहासमै पहिलो पटक नेपाल कपको उपाधि जिताएका थिए । यो वर्ष भने, टिम क्याप्टेन जीवन राईको पहलमा दोस्रो पटक यस बटालियनले कपको उपाधि हात पारेका हुन् ।
शनिबार भएको फाइनल खेलमा पहिलो र दोस्रो गोर्खा बटालियनले फाइनल खेलको प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको फाइनल खेलमा दोस्रो गोर्खा बटालियनका ऋषि थापाले पहिलो गोल गर्दै आप्mनो समूहलाई अग्रता दिलाएका थिए । पहिलो हाफ खेलको ३५ आंै मिनेटमा पुन: दोस्रो गोल उक्त बटालियनले गरेका थिए ।
दोस्रो हाफको ६५ औं मिनटमा पहिलो गोर्खा बटालियनका जर्सी नम्बर १६ आकाश थापाले प्रहार गरेको गोललाई विपक्ष टिमका गोलरक्षक हेमन्तले निर्मूल गर्न असफल बनेका थिए । खेलको ७५औ मिनटमा पहिलो गोर्खा बटालियनले पेनाल्टी पाएको थियो । पेनाल्टिलाई सदुपयोग गर्दै जर्सी नंम्बर १४ बसन्त गुरुङले पेनाल्टी गोल गरेका थिए । दोस्रो हाफको निर्धारित समयसम्म दुबै पक्ष २–२ बराबरीमा सकिएको कारण आयोजकले ३० मिनटको गोल्डेन बल खेलाएका थिए ।
गोल्डेन बलको ११ औं मिनेटमा दोस्रो गोर्खा बटालियनले गोल्डन बल दर्जा पहिले गोर्खा बटालियनको नेपाल अर्को उपाधि चुम्ने सपना अधुरो पारेका थिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक दोस्रो गोर्खा बटालियनका गोलरक्षक हेमन्त राई घोषित भएका थिए ।
नेपाल कपको उपाधि
विग्रेड अफ गोर्खाज हङकङमा रहँदा विशाल प्रतियोगिता हुने पूर्वभूपू गोर्खा विजय लिम्बू बताउँछन् । नेपाल कपको उपाधि जित्ने खेलाडीहरुलाई बटालियनका गुल्मपतिले खेल मैदानमै पदोन्नती दिन्थे । जसले गर्दा खेलाडीहरुलाई स्वत: उत्साह र प्रोत्साहन मिलेको स्मरण गराउँछन् । कालान्तरमा नेपाल कपको क्रेज घट्दै गएको र खेलकुदमा नभएर काममै धेरै व्यस्तता रहेको अनुभव सुनाए । फाइनल खेलको दर्शकदीर्घामा रहेका सुनसरी धरान निवासी लबकुमार राई र बेलायत निवासी टेरी रेन अचानक भेट भएका थिए । उनीहरुले ४५ वर्षअघि क्वीन्स सिङ्नलबाट खेल खेलेका थिए ।
काठमाडौं कप
४ प्रतिस्पर्धी समूहले भाग लिएको प्रतियोगितामा अवकाश भएका गोर्खा सैनिकहरु भेट्रानतर्फ खेलिने प्रतियोगितालाई काठमाडौं कप भन्ने गरिन्छ । विग्रेड अफ गोर्खाजले सन् १९९७ मा हङकङ छाडेर बेलायत आएपछि काठमाडौं कप सुरुआत गरेको हो । काठमाडौं कपको फाइनल खेलमा क्वीन ओन गोर्खा बटालियनलाई क्वीन्स गोर्खा सिङ्नलले ५–१ को विरुद्घ गोल गर्दै शिल्ड हात पारेको थियोे ।






