काठमाडौं अक्टोबर ९ ।

१७ वर्षमुनिको एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ ।
भियतनाममा आज आइतवार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल चाइनिज ताइपेसँग ४–२ गोलले पराजित भएको हो । १० खेलाडीमा समेटिएको नेपालले अन्तिम १० मिनेटमा २ गोल खायो । त्यसअघि पहिलो हाफमा नेपालले २ गोल खाएको थियो । चाइनिज ताइपेका लिन हाइ चिङले २, ताइ यान याउ र लु थिङले एकरएक गोल गरे । नेपालका कप्तान प्रशान्त लक्षम र धन सिंह विकले गोल गरे ।
नेपालका दीपक थापा मगर ७८ औँ मिनेटमा दोहोरो पहेँलो कार्डपछि रातो कार्ड खाएर बाहिरिएका थिए । यसअघि नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ३–० र आयोजक भियतनामसँग ५–० ले पराजित भएको थियो । समग्रमा १२ गोल खाएको नेपालले दुई गोलमात्रै गर्न सक्यो ।
समूह ‘एफ’ मा रहेका नेपाल र चाइनिज ताइपेई यसअघि नै छनोटबाट बाहिरिएका थिए । समूह विजेता एसियन कपमा छनोट हुनेछ ।






