लण्डन १२ अक्टोबर २०२२ । गोर्खालीहरूले गौरवशाली इतिहास रचेका छन् । यसैले नेपाललाई विश्वजगतमा चिनाएको छ । अहिलेसम्म केही बेलायती लेखकले लेखेर मात्रै यो वीरताको इतिहास बचेको हो । अन्यथा गोर्खालीको यो मौलिक इतिहास ओझेलमा परेको हो नै । यसलाई अझै विकास गर्न अब यही इतिहासका रचयिता र गोर्खाली जातिसँग रगत र माटाको नाता राख्नेहरूले नै कलम चलाउनुपर्ने आवश्यकता देखिन्छ । यसरी छायाँमा परेको इतिहासलाई अनुसन्धान, संरक्षण, संबर्धन र प्रवर्धन गर्ने उद्देश्यले ‘गोर्खाली इतिहास मास’को अवधारणा ल्याइएको विनेसाम दक्षिण युके संयोजक विजय हितानले बताए ।
औतारी सॅाइला सहसंयोजक रहेको यस अभियानमा गोर्खाली सैनिक, तिनका परिवार र जोकोही सर्वसाधारण नेपाली विभिन्न क्रियाकलाप गरेर लाग्न सक्नेछन् । यस एक महिनाभित्र युद्धमा वीरगति प्राप्त गर्नुभएका आआफ्ना बाउबाजेका सम्झनामा उहाँहरूको फोटो र संक्षिप्त जीवनी फेसबुकमा पोष्ट गर्न अनुरोध गरिएको छ । त्यसैगरी यस समयावधिभरि युद्ध, सैनिक, पल्टनीया र लाहुरेसम्बन्धी इतिहास, कविता, लेख, संस्मरण, नियात्राजस्ता साहित्यिक सिर्जना रचेर मिडियामा छपाउन र गोर्खाली इतिहासउपर वहसरविमर्श इत्यादि गर्न हार्दिक आह्वान गरिएकको छ ।
यस्ता गतिविधिमा विशेषत ब्रिटिश गोर्खा सेनाका पल्टनहरू, भारतीय गोर्खा सेनाका पल्टनहरू, नेपाली सैनिक, नेपाल पुलिस, गोर्खा रिजर्भ युनिट ब्रुनाई, गोर्खा कन्टिनजेन्ट सिंगापुर पुलिसको महत्वपुर्ण योगदान रहन्छ । साथै सम्बन्धित भूपू सैनिक सङ्गठन, सामाजिक संघसंस्था, साहित्यक संघ र साहित्यिक व्यक्तित्वहरूको पनि विशेष भूमिका रहन्छ ।
यो अभियानलाई प्रत्येक वर्ष ११ अक्टोबरदेखि आरम्भ गरिने छ र पप्पीडे अर्थात् रिमेम्बरेन्सडे ११ नोभेम्बरका दिन समाप्त गरिने छ । यसलाई आउने वर्षहरूमा पनि निरन्तरता दिइने छ । स्मरण रहोस्, शनिवार १२ नोभेम्बर २०२२ का दिन बृहत् युद्ध साहित्य गोष्ठीको आयोजना गरेर यसलाइ समापन गरिने छ ।






