काठमाडौं अक्टोबर १३ ।

जलवायु परिवर्तनको असरलाई कम गर्न तीन वटै तहका सरकारले समन्वय र सहकार्यलाई जोड दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
बिहीवार अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा विज्ञहरुले विश्वभर नै जलवायु परिवर्तनको असरले अकल्पनीय क्षति पुगिरहेको भन्दै यसको रोकथाम र न्यूनीकरणका लागि नेपालले पनि विशेष चासो दिएर तीनै तहको सरकारले एक आपसमा समन्वयात्मक भूमिकामा काम गर्न आवश्यक रहेको बताएका हुन् ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु तथा विपद् विज्ञ डा.धर्म उप्रेतीले जलवायु परिवर्तनको असरलाई कम गर्न तीनै तहको सरकारले सहकार्य गर्न आवश्यक रहेको बताए । उनले हाल ७५३ वटै पालिकामा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन समिति बनेको उल्लेख गर्दै सरकारले ऐन, कानून बनाउने सबै काम सकेको भएपनि त्यसलाई कार्यान्वयनमा लैजान नसकेको बताए ।
उनले सरकारले बनाएका नीति, नियमको कार्यान्वयनका लागि प्रविधि र पैसाको जरुरी रहेको पनि उल्लेख गरे। उनले जलवायु परिवर्तनको असरलाई कम गर्न सरकार एक्लै र कुनै एउटा क्षेत्रले मात्र नसक्ने भन्दै सबैको संयुक्त प्रयासबाट मात्रै जलवायु परिवर्तनको असरलाई कम गर्न सकिने बताए ।






