एजेन्सी अक्टोबर ३० ।

अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा पाकिस्तानले नेदरल्यान्ड्सलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
सेमिफाइनल सम्भावना कायमै राख्न जित्नैपर्ने खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्यो । पर्थमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले २७ बलमा २ चौकासहित सर्वाधिक २७ रन बनाए ।
त्यस्तै कप्तान स्कर्ट एडवार्ड्सले २० बलमा १ चौकासहित १५ रन बनाउँदा अन्य खेलाडीले भने गतिलो प्रदर्शन गर्न सकेनन् । तीव्र गतिका बलर हरिस रौफको बलमा आँखा मुनिको भागमा चोट लागेपछि बास डि लिड ६ रनमा रिटायर्ड हर्ट भएका थिए । उनको स्थानमा नेदरल्यान्ड्सले लोगन भान विकलाई खेलाएको थियो। विक ६ रन बनाएर पेभिलियन फर्किए ।
ओपनर स्टेफन माइबर्ग ६, म्याक्स ओडाउड ८, टम कपुर १, रोलेफ भान मर्वे र टिम प्रिंन्गलले ५/५ रन बनाए। पाकिस्तानका स्पिनर शादब खानले ३ विकेट लिँदा मोहम्मद वासिम जुनियरले २ विकेट हात पारे। त्यस्तै शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहले समान एक/एक विकेट हात पारे ।
९२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले उक्त लक्ष्य ३७ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गरेको थियो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ४९ रन बनाउँदा फखर जमानले २० तथा सन मसुदले १२ रन बनाए ।






