काठमाडौं नोभेम्बर १२ ।

आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोधेको निर्वाचन आयोगले चित्तबुझ्दो जवाफ नदिएकालाई जरिवाना गरेको छ ।
गत स्थानीय चुनावमा स्पष्टीकरणमा चित्त बुझाएको आयोगले संघ र प्रदेशको चुनावमा भने कडा रूपमा प्रस्तुत हुँदै जरिबाना समेत गरेको हो । आयोगले आचारसंहिता उल्लंघन गर्ने, उम्मेदवार, शिक्षक, कर्मचारी, जनप्रतिनिधिलाई ५ देखि २५ हजारसम्म जरिबाना तिराएको जनाएको छ । आयोगले आचारसंहिता उल्लंघनमा बाराको पचरौता नगरपालिकाका प्रमुख जलन्धरसिंह जैसवारलाई सबैभन्दा धेरै २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
काठमाडौं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुकार बमलाई आचारसंहिता उल्लंघनमै आयोगले ५ हजार रुपैयाँ जरिवाना गरेको छ। त्यस्तै काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजाल, अछामका साँफेबगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक कुँवर, जनता आधारभूत विद्यालयका शिक्षक जीवछ यादव र व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अधिकृत गोकुल वस्तीलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ जरिवाना गरेको छ।
यही कात्तिक २५ गतेसम्म प्राप्त स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएकाले विभिन्न उम्मेदवार जनप्रतिनिधि र कर्मचारीलाई कानूनबमोजिम जरिबानासहित कारबाही गरिएको आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेले जानकारी दिए । फिल्डबाट आएको प्रमाणका आधारमा आचारसंहिता उल्लंघनमा कारबाही अघि बढाइएको उनको भनाइ छ ।
आयोगले आचारसंहिता उल्लंघनबारे अनुसन्धान गर्न सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाएको छ भने आचारसं । आचारसंहिता उल्लंघनमा हालसम्म १०८ वटा स्पष्टीकरण सोधिएको छ ।






