काठमाडौं नोभेम्बर १३ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज आइतवार हिमालपारि उपल्लो गोरखाका चुमनुम्ब्री गाउँपालिकाका छेकम्पार, सामागाउँ, सिर्दिबास र माछाखोलाका मतदातासँग भेटघाट गरेका छन् ।
गोरखाको क्षेत्र न. १ मा चुमनुम्ब्री गाउँपालिकाका विभिन्न ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गोरखाका अति विकट क्षेत्रको विकासका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । गोरखाको विकास र समृद्धिका लागि नै आफूले यस पटकको चुनावमा गोरखा आएको बताउँदै प्रचण्डले प्रतिगामी र संविधान विरोधी शक्तिहरूलाई यही चुनावबाट पाठ सिकाउनुपर्ने बताए ।
अहिले संविधान पक्षधर र विरोधीहरूको लडाइँ रहेको जिकिर गर्दै उनले सत्ता गठबन्धनले संविधानको रक्षा, समृद्धि र अग्रमगनको नेतृत्व गरेको तर एमाले र केपी ओलीले प्राप्त उपलब्धिलाई समाप्त पार्ने र देशलाई अँध्यारो सुरुङतर्फ लैजान खोजेको आरोप लगाए ।
चुनावबाट चुनिएर समग्र गोरखाको विकास निर्माणलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरे । राजनीतिक क्रान्तिका लागि गोरखा जसरी उर्बर भूमि बन्यो त्यसरी नै समृद्धिको नयाँ क्रान्तिका लागि गोरखा उपयुक्त रहेको उनको भनाइ थियो ।






