
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानसम्म १५६ वटा सिटको टुङ्गो लागेको छ भने अझै ९ वटा क्षेत्रको परिणाम आउन बाँकी छ । हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५३ वटा सिटमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४१ वटा क्षेत्रमा जित हासिल गरेको छ ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकिकृत समाजवादी)ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सात/सात क्षेत्रमा विजयी भएका छन् । साथै, जनता समाजवादी पार्टीले छ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी १ र राष्ट्रिय जनमोर्चा १ तथा पाँच जना स्वतन्त्र उम्मेदवारहरुले जित हासिल गरेका छन् ।
निर्वाचन आयोगका अनुसार अझैसम्म पनि ९० स्थानको नतिजा आइसकेको छैन । केही स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने केही स्थानमा मतगणना सुरु हुन सकेको छैन । साथै, बाजुरामा शनिबार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो ।






