लण्डन डिसेम्बर ६ ।

बेलायतको अल्डरसटमा एक नेपाली वृद्धलाई हातपात गरी लुटपाट प्रयास गरेको अभियोगमा एक व्यक्तिलाई झन्डै चार वर्षको जेल सजाय भएको छ ।
एलेक्जेन्ड्रा रोड, अल्डरसटका २९ वर्षीय ड्यारेन वाट्सलाई सोमबार विनचेस्टर क्राउन कोर्टले दोषी ठहर गर्दै तीन वर्ष ९ महिना जेल सजाय गरेको हो । गत फेब्रुअरी २५ तारिख शुक्रबार स्थानीय म्यानर पार्कको सार्वजनिक शौचालयमा एक ७८ वर्षीय नेपाली वृद्धलाई पछ्याई कुटपिट गरी पैसा माग्दै उनीमाथि लुटपाटको प्रयास गरेको अभियोग लगाइएको थियो ।
अभियुक्त वाट्सले लुट्ने प्रयास गरेको स्वीकार गरेपछि विन्चेस्टर क्राउन कोर्टले जेल सजाय सुनाएको हो । उनले सोही दिन अल्डरसटमा भएको घटनापछि साइकल चोरी गरेको पनि स्वीकार गरेकोले लुटपाट प्रयासको सजायका साथै एक महिनाको थप जेल सजाय पाएका छन् । सजायपछि बोल्दै स्थानीय प्रहरीका डिटेक्टिभ कन्स्टेबल थोमस बेलीले भने, ‘यो एक वृद्ध पीडितमाथि अप्रत्यासित अनि हिंस्रक आक्रमण थियो, जति बेला उनी आफ्नो बिहानको पैदलयात्रामा थिए ।’
उनले यस अनुसन्धानमा स्थानीय समुदायको योगदान महत्वपूर्ण भएको भन्दै अपराधी पहिचान गर्न सहयोग गर्नेहरूलाई धन्यवाद दिएका छन् ।






