काठमाडौं डिसेम्बर २३ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले फौजदारी शासनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।
आज शुक्रवार काठमाडौंमा सुरु भएको सरकारी वकिलहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले फौजदारी शासन कायम गर्न देशको विद्यमान कानुनको निष्पक्ष र प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको बताए । उनले कानुन बमोजिम आफूले सम्पादन गर्नुपर्ने काम कुनै पनि किसिमको दबाब, प्रभावमा नपरि निष्पक्ष, स्वतन्त्र र व्यावसायिकरूपमा सम्पादन गर्न सरकारी वकिलहरूलाई निर्देशन दिए ।
प्रधानमन्त्री देउवाले अपराधसंहिता लगायतका नयाँ फौजदारी कानुनको प्रभावकारी कार्यान्वयन गर्न र नागरिकका अधिकारको सुनिश्चितता गर्न महान्यायाधिवक्ताको कार्यालयले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले सरकारवादी हुने मुद्दामा अभियोजन नेपाल सरकारविरुद्ध परेका कानुन विवादको प्रतिरक्षा गर्दै व्यावसायिक दायित्व निभाउन पनि सरकारी वकिलहरूलाई आग्रह गरे ।
प्रधानमन्त्री देउवाले सरकारी वकिलहरू व्यावसायिक र क्षमतावान् हुन आवश्यक रहेको पनि बताए। सरकारी वकिलको सेवा तथा सर्तसम्बन्धी कानुन निर्माणका लागि सरकारले आवश्यक पहल गरिरहेको उनको भनाइ छ ।






