काठमाडौं डिसेम्बर २३ ।

कुख्यात अपराधी फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपालबाट ‘डिपोर्ट’ गरिएको छ ।
अध्यागमन विभागले उनलाई १० वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी आज साँझ डिपोर्ट गरेको हो । कतार एयरवेजको क्युआर–६४७ उडानमार्फत उनलाई स्वदेश फिर्ता गरिएको हो। केन्द्रीय कारागारले आजै शोभराजलाई कैदमुक्त गरी अध्यागमनको जिम्मा लगाएको थियो ।
१९ वर्षदेखि नेपालको कारागारमा रहेका शोभराजलाई अस्ति सर्वोच्च अदालतले कैद सजाय घटाएर रिहा गर्न आदेश गरेको थियो। अदालतले आदेश दिए पनि अरु मुद्दा लगाएर फसाउने सम्भावना देखेपछि तत्काल फ्रान्स पठाउनु परेको उनकी प्रेमिका निहिता विश्वासले बताएकी थिइन्। शोभराजसँग जेलभित्रै विवाह गरेकी निहिताले ढिलै भए पनि आफूहरूले न्याय पाएको प्रतिक्रिया दिइन् ।
६५ वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्था छ। नेपाल घुम्न आएका शोभराजबाट २०३२ सालमा अमेरिकी कोन्निजो ब्रोन्जिजको काठमाडौंको मनोहरामा हत्या भएको थियो भने त्यसको दुई दिनपछि क्यानेडियाली लरेन्ट अरमान क्यारिअरेको भक्तपुरको साँगामा हत्या भएको थियो ।
त्यसपछि फरार भएका शोभराजलाई २०६० सालमा काठमाडौं आएका वेला पक्राउ गरिएको थियो । काठमाडौं र भक्तपुर जिल्ला अदालतबाट हत्या अभियोगमा दोषी ठहर भएका उनलाई फरक–फरक समयमा जन्मकैदको फैसला भएको थियो ।






