पोखरा जनवरी १ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर जनताको निम्ति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले बाँकी जीवन मुलुकको आर्थिक विकास र समृद्धि तथा सुशासन र सामाजिक न्यायका लागि भनेर निर्वाचनका बेला जनताको सामु कवुल गरेको उल्लेख गर्दै सोहीअनुसार आफूले काम गर्ने बताएका हुन् ।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पोखरामा मात्रै नभई सिंगै मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वाससमेत व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले सो विमानस्थल निर्माणका लागि आफूले लिएको पहलकदमीबारे चर्चा गर्दै आफैँले प्रधानमन्त्रीको रुपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व दुवै लागेको समेत बताए । उनले कास्की आफ्नो जन्मस्थल भएको उल्लेख गर्दै त्यसले आफूलाई अझ नयाँ ऊर्जाका साथ काम गर्न प्रेरणा मिलेको समेत बताए ।
प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक विकासका लागि कनक्टिभिटीको महत्वपूर्ण भूमिका भएको भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको त्यसमा ठोस योगदान पुर्याउने स्पष्ट पारे । कार्यक्रममा सो विमानस्थल निर्माणमा योगदान पुर्याएका पूर्वपर्यटनमन्त्रीहरुलाई पनि सम्मान गरिएको थियो ।






