पोखरा १ जनवरी २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री दाहालले आइतबार एक भव्य समारोहबीच विमानस्थलको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि गराइनुका साथै भव्यताका साथ हर्षबढाइँ गरिएको थियो । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अंग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन गरिएको हो ।
पोखरा महानगरपालिकाले विमानस्थल उद्घाटनअघि पोखराको अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक भेषभूषासहितको र्याली निस्किएका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक विक्रम गौतमले विमानस्थल उद्घाटन कार्यक्रमलाई भव्य बनाउन महानगरले अपनत्व लिएकोमा पोखरा विमानस्थलले पोखराको मात्र नभई देशकै समुन्नतिको ढोको खोल्ने बताए ।
विसं २०३२ मा विमानस्थलका लागि भनेर पहिलोपटक तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो। जमिन अधिग्रहणको चार दशक पछि निर्माण प्रक्रिया सुरू भएको हो । उडान सुरु गर्न ‘कम्तीमा दुई महिना’ समय लाग्ने देखिएको उनीहरुको भनाइ छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग प्रतिघण्टा झन्डै ६०० यात्रुहरू व्यवस्थापनको क्षमता रहेको अधिकारीहरूले बताएका छन् ।






