लण्डन ६ जनवरी २०२३ ।

गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको सुनिलबाबु खड्काको नेतृत्वमा रहेको कार्यसमितिलाई आइसीसीले अनुमोदन गरेको छ ।
कार्यकारी अध्यक्ष रविना थापाको अध्यक्षतामा बुधबार बसेको आइसीसी बैठकले एनआरएनए यूकेमा विशेष अधिवेशनमार्फत् आएको उक्त समितिलाई अनुमोदन गर्ने निर्णय गरेको जनाइएको छ । बेलायतको विवादसम्बन्धमा आइसीसी अध्यक्ष कुल आचार्यले प्रस्तुत गरेको पुनर्गठित कार्यसमितिसम्बन्धि सिफारिशलाई बैठकले अनुमोदन गरेको हो ।
एनआरएनए यूके विवादबारे अध्ययन गरी समाधानका लागि सिफारिश गर्न आइसीसीले अध्यक्ष आचार्य र बेलायतस्थित अन्य पदाधिकारीलाई जिम्मेवारी दिएको थियो । यसअघि संघको प्रतिष्ठामा आँच आउने गरी विधानविपरित गतिविधिमा संलग्न भएको भन्दै एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरलाई आइसीसीले गत सेप्टेम्बर १३ मा पदमुक्त गरेको थियो ।
त्यसको एक महिनापछि अक्टोबर १८ मा लन्डनमा सम्पन्न विशेष साधारणसभाले उपाध्यक्ष सुनिलबाबु खड्कालाई अध्यक्ष मनोनित गरेको थियो । इसीसीबाट अनुमोदन भएसंगै सुनिलबाबु खड्काको नेतृत्वमा रहेको समितिले नै एनआरएनएको केन्द्रीय ‘एमआइएस सिस्टम’ मार्फत सदस्यता वितरण गर्न पाउने भएको छ । जसअनुसार यही जनवरी ८ तारिखदेखि नै केन्द्रीय ‘एमआईएस सिस्टम’मार्फत सदस्यता आवेदन खुलाउने तयारी गरिएको छ ।
सोही दिन समितिले लन्डनमा एक नयाँ वर्ष शुभकामना तथा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गर्दैछ ।






