
काठमाडौं ९ जनवरी २०२३ । गण्डकी प्रदेश मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी र वाग्मती प्रदेश मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नियुक्त भएका छन् ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सत्तारुढ दलमा आबद्ध ३२ र एक स्वतन्त्रसहित प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाएर दाबी पेस गरेका नेता अधिकारीलाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमालेका २२, नेकपा (माओवादी केन्द्रका) आठ, राप्रपाका दुई र स्वतन्त्र हैसियतमा प्रदेशसभा सदस्य राजीव गुरुङको समर्थन छ ।
अधिकारी कास्की प्रतितिसभा १ प्रदेशसभा १ बाट निर्वाचित भएका थिए ।
यस्तै वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम जम्कट्टेललाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । जम्कट्टेलले सरकार गठनका लागि दाबी पेस गर्न दिएको समयसीमा सकिन्नुभन्दा दुई घण्टाअघि ७० जना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।
जम्कट्टेललाई माओवादी केन्द्र २१, नेकपा एमाले २७, राष्ट्रिय प्रजातन्त्र पार्टी १३, नेकपा एकीकृत समाजवादी ७, हाम्रो नेपाली पार्टीका २ जना सांसदको साथ रहेको छ । ११० सदस्यीय प्रदेशसभा सदस्य रहेको वाग्मतीमा सरकार गठनका लागि ५६ सांसदको साथ भए पुग्छ । नवनियुक्त जम्कट्टेल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हुन् ।






