काठमाडौं १६ जनवरी २्र०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका लाखौँ नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार गैरआवासीय सङ्घका प्रतिनिधिसँगको छलफलमा उनले भने, ‘विदेशमा लाखौँ नेपाली छन्, मैले मेरो दोस्रो कार्यकालसम्म गैरआवासीय नेपाली सङ्घ एनआरएनएले उठाएका मागहरू सम्बोधनका लागि प्रयास गरेँ र अब मेरो तेस्रो कार्यकाल विदेशमा बस्ने बहुसङ्ख्यक नेपालीको मन जित्छु ।’
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा विद्यमान कतिपय कानुनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई नेपाल सरकारले क्रमशः सच्याउँदै आएको र अबका दिनमा पनि कानुनी उल्झनलाई पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी रहने बताए । विदेशमा रहेका नेपालीले नेपाल र नेपालीको पहिचान विश्वमाझ पुर्याउन ठूलो भूमिका निर्वाह गरेको भन्दै उनले गैरआवासीय नेपालीप्रति आभार व्यक्त गरे ।
राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिकरूपमा विश्वभर नेपाललाई चिनाउन नेपालीहरू थप संवेदनशील र जिम्मेवार बन्दै गएकोप्रति उनले खुसी व्यक्त गरे । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सङ्घका तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो ।






