लण्डन २५ जनवरी २०२३ ।

भूतपूर्व गोर्खाहरुको मुद्धामा बेलायत र नेपालको सरकारस्तरीय वार्ता जारी रहंदा गोर्खाहरुले बेलायती पक्षको नैतिक समर्थन जुटाउन पहल थालेका छन् ।
वार्तामा गोर्खाहरुका प्रतिनिधिका रुपमा सहभागी वार्ताकार मेजर जुदबहादुर गुरुङसहित गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ताहरुले बेलायतको छांया स्याडो सरकारका भेटेरान मन्त्रीलाई भेटेर गोर्खाहरुको समस्याबारे जानकारी गराएका छन् । मंगलबार छांया भेटेरान मन्त्री र्याचेल हप्किङ्ससँगको भेटमा मेजर गुरुङले पूर्व गोर्खाहरुको समस्याहरुबारे बुंदागत रुपमा जानकारी गराए । उनले गोर्खाहरुमाथि बेलायतबाट भएको विभेद तथा हालसम्म सुनुवाइ हुन नसकेका विषयहरुबारे पनि उनलाई अवगत गराए ।
एक घण्टा लामो भेटवार्तामा मेजर गुरुङको ब्रिफिङ सुनिसकेपछि भेट्रान मन्त्री हप्किङ्सले गोर्खाहरुको वास्तविक अवस्था बुझ्दा आफू गम्भीर बनेको प्रतिक्रिया दिइन् । यसअघि गोर्खाका माग, त्रिपक्षीय सन्धिलगायतका विषयमा सुन्दै आएपनि गोर्खाहरुले भोगेका पीडा र विभेदबारे पहिलोपटक बुझ्ने अवसर पाएको उनले बताइन् ।
गोर्खाहरुको माग पूरा गर्न आफूले सक्दो भूमिका खेल्ने आश्वासन छांया मन्त्री हप्किङ्सले दिइन् । गोर्खाहरुको मुद्धाका बारेमा बेलायत सरकारबाहेक अन्य पार्टी र सांसदहरुलाई समेत भेटेर जानकारी गराउन सके त्यसले वार्तालाई सफल पार्नमा सहयोग पुर्याउने सुझाव उनले दिएकी थिइन् । सो अवसरमा गोर्खा सत्याग्रह संघर्ष समितिआबद्ध गोर्खा अभियन्ताहरु सन्तोष थलङ, ज्ञानराज राई, सइन्द्र केसीसहित उक्त भेटवार्ताको संयोजन गर्ने बुद्धिजिवी शिवजी श्रेष्ठको पनि सहभागिता थियो ।






