स्याङ्जा २७ जनवरी २०२३ । लोक तथा दोहोरी गायक भीम पौडेलको मृत्यु भएको छ । गायक पौडेलको स्याङ्जा पुतलीबजार नगरपालिका भालेउकालोस्थित निवासमा बिहीबार राति निधन भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले जानकारी गराए । उनका अनुसार गायक पौडेल डिप्रेसन र रगतसम्बन्धी समस्याले पीडित थिए ।
पौडेल एक दशकभन्दा लामो समयदेखि गीत, संगीतमा लागिरहेका थिए । अविवाहित गायक पौडेल पछिल्लो समय प्रत्यक्ष दोहोरी गायनमा चर्चित थिए । गायक पौडेलले पहिलो गीत ‘जमाना यस्तै छ आको…’ निकालेका थिए । उनको पोखरास्थित रामघाटमा शुक्रबार अन्त्येष्टिको कार्यक्रम छ । त्यसअघि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले पोखरामा श्रद्धाञ्जली सभा राखिएको अध्यक्ष बिजीले जानकारी दिए ।
अध्यक्ष बिजीले लोकदोहोरी क्षेत्रले प्रतिभाशाली, सालिन र अनुशासित गायक गुमाएको भन्नुहुँदै आफू स्तब्ध भएको बताए ।






