काठमाडौं २७ जनवरी २०२३ ।

उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र प्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज शुक्रबार भएको भेटमा उहाहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्त्वपूर्ण सहयोग गरेको स्मरण गरे । त्यस अवसरमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने बताइन् ।
नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत् व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको राजदूत पोलिटले बताइन् । ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको उनले उल्लेख गरिन् । अहिलेको सरकारको प्रथमीकता राष्ट्रिय एकता, शुसासन र सेवा प्रभाह भएको उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले त्यसमा बेलायत सरकारको पूर्ण सहयोग रहने विश्वास व्यक्त गरे ।
फरक प्रसंगमा उपप्रधानमन्त्री लिङ्देनले भूपू ब्रिटिश गोर्खा सैनिकको समस्या समाधानको लागि राजदूत पोलिटसमक्ष आग्रह गरेका थिए ।






