लण्डन ३० जनवरी २०२३ ।

बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरु आबद्ध ‘हेल्थ एक्सचेन्ज नेपाल यूके’ ले बेलायतको म्यान्चेस्टरमा स्थानीय नेपालीको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ ।
हिमालय यतीको सहकार्यमा गत सप्ताहन्तमा स्थानीय गीता मन्दिरमा आयोजना गरिएको नेपाली स्वास्थ्य मेलाका अवसरमा ४२ जना नेपालीको स्वास्थ्य परिक्षण गरिएको आयोजक समूहका सदस्य डा रमेश खोजुले जानकारी दिए । त्यस अवसरमा १५ जना एनएचएस कन्सल्टेन्ट र जीपीहरु सहितले स्वास्थ्य परिक्षण गरी आवश्यक परामर्श दिएका थिए ।
बेलायतको नेश्नल हेल्थ सर्भिस एनएचएसको सेवा लिन लामो समय पर्खिनुपर्ने अवस्थाबीच म्यान्चेस्टरका नेपालीलाई आफ्नो घरदैलोमै निशुल्क स्वास्थ्य चेक जांचको अवसर मिलेको थियो । म्यान्चेस्टरस्थित हिमालय यतिका अध्यक्ष पुष्प श्रेष्ठले यो कठिन समयमा स्वास्थ्य सेवा पाउन नसक्ने प्रवासी नेपालीका लागि स्वास्थ्य मेला निकै उपयोगी भएको बताए ।
हेल्थ एक्सचेन्ज नेपालका महासचिव प्राध्यापक सत्यन राजभण्डारीले बेलायतमा रहेका नेपालीलाई सहयोग गर्न आफ्नो संस्था प्रतिबद्ध रहेको जनाए । हेल्थ एक्सचेन्ज नेपाल यूकेले यसअघि बेलायतको क्याटरिकमा पनि निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरिसकेको थियो । आगामी दिनमा क्रमिक रुपमा बेलायतका सबै नेपालीहरूमाझ यस्ता कार्यक्रम लिएर पुग्ने संस्थाको लक्ष्य छ।






