काठमाडौँ ६ फेब्रुअरी २०२३ । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा९माओवादी केन्द्र० का सांसद उर्मिला अर्याल निर्वाचित भएकी छन् ।
सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउँदै अर्याल निर्विरोध निर्वाचित भएको सभालाई जानकारी गराए । सभाध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सफल कार्यकालको कामना गर्दै बधाईसमेत दिए ।
त्यसअघि नेकपा एमालेका सांसद देवेन्द्र दाहालले राष्ट्रियसभाका उपाध्यक्षका रुपमा अर्याल योग्य व्यक्तित्वका रुपमा रहेको बताएका थिए ।
उपाध्यक्षका लागि अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलनको एक सिद्धहस्त व्यक्तित्वलाई उपाध्यक्षका रुपमा पाउन लागेको बताए ।
प्रस्तावका पक्षमा आफ्नो धारणा राख्दै सांसद खिमलाल देवकोटाले महिला नेत्री एवं राष्ट्रियसभाका सदस्यका रुपमा रहेकी सांसद अर्यालको भूमिका नेपालको महिला आन्दोलनमा प्रशंसनीय रहेको बताए ।
माओवादी केन्द्रका स्थायी समिति सदस्य रहेकी अर्याल पूर्वस्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हाली सकेकी छन् । विसं २०१३ असोज २० गते साविक जगरनाथपुर गाउँपालिका–५ मसिहानी, पर्सामा जन्मनुभएका अर्याल हालको ठेगाना वीरगञ्ज महानगरपालिका–२३, गण्डक चोक वीरगञ्ज हो । तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागेकी र्याल गत वर्ष भएको राष्ट्रियसभाको निर्वाचनमा मधेस प्रदेशबाट निर्वाचित भएकी हुन् ।
समाजशास्त्रमा स्तातकोत्तर गरेकी अर्याल विद्यावारिधिको शोधार्थी छिन् । अखिल नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेका अर्यालले महिला विकास अधिकृतका रुपमा पनि सेवा गरेकी छन् । तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो । उनी विसं २०७८ माघ १२ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।






