एजेन्सी १० फेब्रुअरी २०२३ ।

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या २० हजार नाघेको छ।
टर्कीमा मात्रै मृत्यु हुनेको संख्या १७ हजार ६ सय पुगेको त्यहाँको सरकारी समाचार संस्था अनादोलुले जनाएको छ । भूकम्पका कारण सिरियामा ३ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। हजारौँ घाइते छन्। लाखौँ मानिस घरबारविहीन बनेका छन् । उद्धारकहरूले भूकम्पमा परेकाहरूको खोजी र उद्धार गरिरहेकै छन् । सहायताकर्मी खोजी र उद्धार कार्यमा चौथो दिन पनि टोलीहरू परिचालित छन्। घाइते र मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूको भनाइ छ।
भूकम्प प्रभावितहरूको उद्धार र राहतमा ढिलाइ भएको भन्दै आलोचना भइरहँदा टर्कीका राष्ट्रपति तैयप इर्दोआन प्रभावित क्षेत्र पुगेका छन् । वर्षा र हिमपातले उद्धारमा थप समस्या देखिएको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत पुर्याउने र पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन विश्वका धेरै देशले सहयोग सामग्री पुर्याइरहेका छन् ।
हिउँदको चिसो, भोकमरी र निराशाले यति बेला टर्की र सिरियाका लाखौँ मानिसहरू थप पिडामा छन् ।






