काठमाडौं ११ फेब्रुअरी २०२३ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारी मात्रामा लागुऔषधसहित चार जना थाई नागरिक पक्राउ परेका छन् ।
थाईलाइन एयरको उडान नं २२१ बाट बैंकक जान लागेका चार जना थाई नागरिक ३५ किलो चरेससहित पक्राउ परेका हुन् । विमानस्थल प्रहरी स्रोतका अनुसार शनिबार साँझ उनीहरू ब्यागेज चेकिङ क्षेत्रबाट पक्राउ परेका हुन् । उनीहरूले सुटकेसमा फल्स बटन बनाई लागुऔषध चरेस लुकाइछिपाइ लैजान लागेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ पर्नेमा परिचार्त पम्पुक, नटनारे त्रिचैया, याउलुक जुब्श्री र नातपोल त्रिचैया रहेका छन्। त्यसमध्ये तीन जना महिला र एक जना पुरुष रहेको प्रहरीले जनाएको छ । उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए ।
उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनअराइभल भिसा लिएको अध्यागमन कार्यालयले जनाएको छ । थप अनुसन्धानका लागि उनीहरूलाई लागुऔषध नियन्त्रण व्युरो कोटेश्वरमा पठाइएको छ ।






