काठमाडौं । ग्यास सिलिण्डर पड्किएर घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीका आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ ।
कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिइन् । उनका अनुसार बिहीबार बिहान करिब १० बजेर ५७ मिनेटमा उनको निधन भएको हो । बुधबार राति ग्यास पड्किएर नेता डा भण्डारीसहित उनकी ८६ वर्षीया आमा हरिकला घाइते भएकी थिइन् ।
आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशतसम्म जलेको सो अस्पतालले जनाएको थियो । यस्तै नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी शरीरका २५ देखि ३० प्रतिशतसम्म भाग जलेको चिकित्सकले बताएका छन् । डा भण्डारीको उपचार जारी छ ।
यसैबीच नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर अस्पतालमा उपचाररत कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधबार राति ग्यास सिलिण्डर पड्किएर हरिकलाको शरीरको ७० प्रतिशत भाग र सांसद चन्द्रकान्तको दुवै हात र गोडा गरी २५–३० प्रतिशत जलेको अस्पतालले जनाएको छ ।
यस्तै सभामुख देवराज घिमिरेले पनि अस्पताल पुगी उनको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ । अस्तपालले हाल उपलब्ध साधन र स्रोतको अवस्थामा उनको यथोचित उपचार स्वदेशमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको छ ।






