काठमाडौं १ मार्च २०२३ ।

नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ ।
कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनमा आबद्ध रहेको एकीकृत समाजवादीको बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपति चुनावमा कांग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औपचारिक निर्णय गरेको हो । आठ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति चुनावमा मतदान गर्ने एकमात्रै निर्णय बैठकले गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उहाँका अनुसार बैठकमा देशमो पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भए पनि सरकारमा जाने विषय भने प्रवेश गराइएन । सरकारमा जाने विषयमा पार्टी सकारात्मक भए पनि समय आइनसकेकाले त्यस विषयमा छलफल नभएको प्रवक्ता खतिवडाको भनाइ थियो । राष्ट्रपतिको चुनाव यही फागुन २५ गते हुँदैछ ।
त्यसका लागि कांग्रेससहितका आठ दलको तर्फबाट रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् भने एमालेबाट पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन् ।






