काठमाडौं ८ मार्च २०२३ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बुधबार हुने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै पार्टी प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राप्रपा राष्ट्रपति चुनावमा तटस्थ बस्ने बताए । राजतन्त्रको वकालत गर्दै आएकाले राप्रपामा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने मत बलियो थियो । पुस १० मा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीसँगको गठबन्धनमा रहेको राप्रपाले यसअघि राष्ट्रपति एमालेले पाउने सहमति भइसकेको बताउँदै आएको थियो ।
अहिले गठबन्धन परिवर्तन भएर एमाले उम्मेदवारले नजित्ने अवस्था देखेपछि राप्रपाले कसैलाई पनि मतदान नगर्ने निर्णय गरेको हो । राष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।






