
रसमरबोरो काउन्सिलको च्यारिटी सम्पन्न
चिम्खोले काइला
१० मार्च २०२३, बेलायत। बेलायतको हाम्सायर काउन्टीस्थित रसमरबोरो काउन्सिलको मेयर च्यारिटी अल्डर्सट शहरको प्रिन्सेस हलमा सम्पन्न भएको छ। रसमरबोरो काउन्सिलका मेयरहरुले हरेक बर्ष “मेयर च्यारिटी” संचालन गर्ने गर्दछन। च्यारिटीबाट प्राप्त रकम बिभिन्न संस्थाहरुलाई प्रदान गर्ने गर्दछ। यस बर्ष उक्त च्यारिटीबाट प्राप्त रकम Phyllis Tuckwell Hospice का Parity of disability बिरामीहरुलाई प्रदान गर्ने भएको छ।
उक्त च्यारिटीमा बेलायतका राजा चाल्स तृतीयको नाममा “द रोयल टोष्ट” गरिएको थियो भने मनोरन्जनको लागि आइरिस नृत्य, राफल ड्र, हेड एण्ड टेल गेम, नृत्य र गीतहरु प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्टारबर्स फाउण्डेशनका गायक गायिकाहरु र क्याप्टेन बिर थापाले गितहरु प्रस्तुत गरेका थिए भने नेपालबाट बेलायत आएका नेपाली फिल्मका चर्चित नायिका रजनी गुरुङ (मंगली) ले सुन्दर नृत्य प्रस्तुत गरेका थिए।
रसमरबोरो काउन्सिलका मेयर जोन मार्सको अध्यक्षतामा संचालन भएको च्यारिटीमा अल्डर्सट ग्यारिजनका ग्यारिजन कमान्डर लेफ्टेनेण्ट कर्नेल निक बर्ली, गोर्खा नगर पालिकाका मेयर तथा श्रीमती कृष्ण बहादुर राना, उपमेयर सपना पुनमगर, वडा अध्यक्षहरु, रसमरबोरो काउन्सिलका काउन्सिलरहरु बेलायतमा स्थापित बिभिन्न संघ संस्थाका अध्यक्षहरुलगायत धेरै समाजसेवीहरुको उपस्थिति रहेको थियो।






